यस्ता छन् स्टक डिलरले गर्न नहुने १४ काम

काठमाडौं । नेप्सेले स्टक डिलर कार्य सञ्चालन कार्यविधि आगामी भदौदेखि लागू गर्ने भएकाे छ । नेप्से सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो । स्टक डिलरकाे काम सञ्चालनलाई सहज बनाउन नेप्सेले बनाएको उक्त कार्यविधि अनुसार स्टक डिलरले विभिन्न १४ वटा काम गर्न नपाउने भएका छन् । स्टक डिलरले गर्न नहुने कामहरूः १) नेप्से तथा बोर्डको स्वीकृत बेगर कारोबार बन्द गर्न पाउने छैनन् । २) नेप्सेलाई झुठा वा भ्रामक सूचना वा विवरण दिन पाउने छैनन् । ३) नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रुपमा विज्ञापन गर्न नपाउने व्यवस्था रहेको छ । ४) बजार सञ्चालनको निमित्त बाधा पार्ने काम गर्न पाउने छैनन् । ५) स्टक डिलरले बजारलाई असर गर्ने गरी सूचना प्रवाह गर्न पाउने छैनन् । ६) कारोबार गरिने धितोपत्रको कृत्रिम रुपमा मूल्य वृद्धि वा कमी गर्न नपाइने । ७) कुनै पनि सूचीकृत कम्पनीले तोकेको भन्दा बढी सेयर लिन पाउने छैनन् । ८) नेप्सेको प्रणालीभन्दा बाहिर गएर सेयर बिक्री गर्न नपाइने भएको छ । ९) अख्तियार प्राप्त निकायले रोक्का गरेको सेयर पनि किनबेच गर्न पाइने छैन । १०) झुट्ठा कारोबार गर्न पाइने छैन । ११) स्टक डिलरले अनुमति नलिई हाई फ्रिक्वेन्सी ट्रेडिङ् वा अल्गोरिदममा आधारित कारोबार सञ्चालन गर्न पाउने छैनन् । १२) उनीहरुले कुनै पनि कम्पनीको भित्री सूचनामा आधारित रहेका कारोबार गर्न नपाउने भएका छन् । १३) नेप्सेको कारोबार प्रणाली जोडिएको उपकरणहरुका नेप्सेको प्रणाली, उपकरण, तथ्यांक एवं कारोबार प्रकृयालाई असर गर्ने गरी अन्य उपकरण वा सफ्टवेर जडान गर्न पाउने छैनन् । १४) यसका साथै, प्रचलित नेपाल कानून विपरित हुने अन्य कामहरु गर्ने नपाउने नेप्सेले सार्वजनिक गरेको स्टक डिलर कार्यविधिमा भनिएको छ । सम्बन्धित समाचारः स्टक डिलर कार्यविधि भदौदेखि लागू, सेयर किनबेच गर्न कम्तिमा एक हजार कित्ता हुनुपर्ने  

आरम्भ चौतारी लघुवित्तको नाफा बढ्यो, जगेडा कोषमा थपियो ६ करोड रुपैयाँ

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव)को असार मसान्तसम्ममा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.९४ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो आवको सोही अवधिमा २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । २६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्थाले गत असार मसान्तसम्ममा ८८ करोड ५७ लाख निक्षेप संकलन र २ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड अर्थात ५८४ प्रतिशत बढी हो । अघिल्लो आवमा लघुवित्तको जगेडा कोषमा १ करोड २ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा संस्थाको खुद व्याज आम्दानी बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा पनि बढेर ५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १२.२५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ११५.९८ प्रतिशत, कुल सम्पत्ति प्रतिफल १.२१ प्रतिशत र तरलता अनुपात ५.२४ प्रतिशत रहेको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात ३८.११ गुणा रहेको छ ।

बहराईन एपबाट पठाएकाे रकम इसेवाबाट झिक्दा ५५ रुपैयाँ फिर्ता पाइने

काठमाडौं । बीएफसी बहराईन एपबाट पठाएकाे पैसा इसेवा वालेट (इसेवा आईडी)बाट झिक्दा ५५ रूपैयाँ क्यास ब्याक पाइने भएकाे छ । साे सम्बन्धी बहराईनको मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) र इसेवा मनि ट्रान्सफरबीच सम्झाैता भएकाे छ । दुई संस्थाबीच रेमिट्यान्स् सेवा सुरु भएसँगै नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (इसेवा आईडी)मा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको हाे । यससँगै, बहराईनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै बीएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेट (इसेवा आईडी)मा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (इसेवा आईडी)मा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको छ । इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।