साउन २८ गते लक्ष्मी भ्यालु फण्ड १ को इकाईधनी दर्ता किताब बन्द हुने
काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड १ ले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन २८ गते १ दिनको लागि इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ । लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ ले आव २०७५/७६ का लागि इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने यस अघि नै घोषणा गरी सकेको छ ।
आईसीएफसीले १३ करोड ८९ लाख नाफा कमायो
काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७५/७६ मा १३ करोड ८९ लाख ८६ हजार रुपैयाँ कमाएको छ । फाइनान्सले अघिल्लो आव २०७४/७५ मा ९ करोड ५५ लाख नाफा कमाएको थियो । कम्पनीले गएको आवमा ३५ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको छ । फाइनान्स कम्पनीको बोनस र राजस्व तिर्नुअघिको नाफा २२ करोड रहेको थियो । गएको आवमा फाइनान्स कम्पनीले १० अर्ब ९३ करोड निक्षेप संकलन गरेर विभिन्न क्षेत्रमा ८ अर्ब ७१ करोड लोन र एडभान्स प्रदान गरेको छ । कम्पनीको ८८ करोड २१ लाख चुक्ता पुँजी रहेका फाइनान्स कम्पनीको रिजर्भ ३५ करोड १४ लाख रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १०.६६ रुपैयाँ रहेको छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५ सय ८८ रुपैयाँ पुगेको छ । कष्ट अफ फन्ड ९.२३ रुपैयाँ रहेको छ । खराव कर्जा ०.०८ प्रतिशत रहेको छ । कम्पनीको बेस रेट ११.९३ रुपैयाँ र सीडी रेसियो ७१.७७ प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ १३९.८४ रुपैयाँ रहेको छ ।
सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदनः धितोपत्र बोर्ड
काठमाडौ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदन सार्वजनिक गरेको छ । सूचीकृत कम्पनीहरूमा संस्थागत सुशासन प्रवद्र्धन गर्न बार्डले नयाँ ढाँचा तयार पारेको हो । बोर्डले सूचीकृत संगठित संस्थाहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालाहरू प्रति उत्तरदायी बनाइ संस्थागत सुशासन प्रवद्र्धन गर्न सो ढाँचा तयार पारेको हो । उक्त ढाचामा ओईसीडीको संस्थागत सुशासनसँग सम्बन्धित मुख्य सिद्धान्तहरुको उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरु समेटिएका छन् । बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३, बमोजिम सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ बनाइ २०७५ साउन १ गतेदेिख लागू गरेको थियो । सो निर्देशिका अनुसार अब सूचीकृत संस्थाहरुको परिपालना अधिकृतले प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । सो ढाँचामा आर्थिक वर्ष २०७५÷७६ देखिको वार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको छ । प्रतिवेदनले मुख्यतया संचालक समिति, संचालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक निर्णय प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा परिक्षण सम्बन्धमा विशेष ढाँचा तयार पारिएको छ ।