इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न, खुद मुनाफा करिब १३ कराेड
काठमाडौं। इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पच्चिसौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले यस आर्थिक बर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ४ अर्ब ६३ करोड र कर्जा सापट रु. ४ अर्ब २८ करोड पुगेको तथा यस बर्षको सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्था पछि) रु. १२ करोड ९९ लाख भएको जानकारी साधारणसभालाई गराए । कम्पनीको चुक्ता पूँजी रु.८१ करोड पुगेको तथा साधारणसभामा अनुमोदनको लागि पेश गरिएको उक्त चुक्ता पूजिँका १३ प्रतिशतको लाभाँश बितरण (बोनश शेयर २.३५५ तथा नगद लाभाँश १०.६५५) सम्बन्धी प्रस्तालाई २५ औं साधारणसभाबाट अनुमोदन गरियो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले बिषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्रहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको कुरा बताउनु भयो । कम्पनीले २०७६ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रहि व्यवसायीक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पूर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराए। छलफलको क्रममा शेयरधनीहरुबाट उठाईएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षज्यूको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारणसभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागि पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो।
साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका
काठमाडौं। काठमाडौं महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले व्यवस्थापन गर्न एकीकृत प्रणाली लागू गरिएको जानकारी दिए । सञ्चालनमा रहेका एक हजार ८५६ सहकारीलाई एकीकृत गरी ७०० बनाउने लक्ष्य लिइएको छ । सहकारी ऐन २०७४ तथा कामपाको सहकारी ऐन २०७४ मा एकीकृत गर्न सकिने प्रावधान रहेको छ । एकीकृत हुन दुई सहकारी एकअर्कामा तयार रहनुपर्छ । दुई महिनाअघि मात्र कापमाले वडा नं २४मा रहेकोे विराज बचत तथा ऋण सहकारी र वडा नं १३ को सप्तदीप बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी ‘सप्तदीप बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन प्रक्रिया शुरु गरिएको थियो । त्यस्तै वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरी ‘सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन भइरहेको छ । एकीकृत हुने सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । सर्वसाधारणलाई ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट भइसकेको विभागले जनाएको छ । यसैगरी कामपा २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ । कामपा कार्यपालिका बैठकले एक महिनाअघि सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । विसं २०६४ मा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक विसं २०७४ बाट सम्पर्क्विहीन भएको जनाइएको छ । प्रशासन विभाग प्रमुख ढकालका अनुसार सो सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा लानुपर्ने कानूनी प्रावधान रहेको थियो ।
सीएको कार्यक्रममा अर्थमन्त्रीदेखि अख्तियारका प्रमुखसम्मको गुनासो लेखापरीक्षकसँग नै
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्याउनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तर्क्रियामा अर्थमन्त्री खतिवडाले वित्तीय अपराधको दायर बढिरहेको भन्दै नियन्त्रणको चुनौती रहेको बताए । अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे । ‘गलत कम्पनी दर्ता हुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको छ, कुनै कारोबारको जरोदेखि नै गलत कृयाकलाप सुरु हुने गरेको छ, त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुनु भएन,’ मन्त्री खतिवडाले भने । प्रविधिको उपलब्धता तथा नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि डा. खतिवडाको भनाइ छ । अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने धारणा राखे । ‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन्, भ्रष्टचार नियन्त्रणमा सबैको सहयोग आवश्यक छ,’ मन्त्री खतिवडाले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट् संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । लेखापरीक्षणका क्रममा वित्तीय ठगी र भ्रष्टाचार भए नभएको हेर्नुपर्ने प्रमुख आयुक्त घिमिरेको भनाइ छ । लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए।‘हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखापरीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरुले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,’ घिमिरेले भने । महालेखापरीक्षक टंकमणि शर्माले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए । अहिलेको समयमा कर चुहावट, अनियमितता, भ्रष्टाचारको विकेन्द्रीकरण जस्ता समस्या रहेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे । अहिले संसारभर नै निजी क्षेत्र ठगीमा र सार्वजनिक क्षेत्र भ्रष्टाचार लुकाउन केन्द्रित रहेको शर्माको भनाइ छ । अन्तर्राष्ट्रिय तहमै सम्पत्ति शुद्धीकरणका विषय पनि उठिरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने घिमिरेको भनाइ छ । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले व्यवसायिक संस्थाहरुको काम कारबाही सुधार हुँदै जानुपर्ने बताए । उनले नियमनकारी निकायहरुको भूमिका अझै बलियो हुनुपर्ने आवश्यकता पनि औंल्याए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न पेशा र व्यवसायमा नैतिकता क्षयीकरण देखिएको अनुभूति जनमानसमा परिरहेको उल्लेख गरे । उनले आफूहरुले आयोजना गरेको यस्ता कार्यक्रमले सदाचार प्रबर्धन र भ्रष्टाचार नियन्त्रणमा कसरी काम गर्ने भन्ने विषयमा सरकारलाई पनि सहयोग पुग्ने बताए । ‘व्यावसायिक नैतिकता प्रबर्धन गर्ने र हरेक व्यावसायिक व्यक्ति र संस्थालाई नैतिकताको सीमामा राख्ने गरी हामीले काम गर्नुपर्नेछ, त्यसैका लागि छलफल आवश्यक परेकाले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । यो कार्यक्रमबाट प्राप्त हुने सुझाव र सल्लाह हामी सरकार र अन्य सरोकारवाला निकायलाई पनि प्रस्तुत गर्नेछौँ,’ अध्यक्ष आचार्यले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तासमेत रहेका सहसचिव प्रदीप कोइरालाले लेखापरीक्षकले गरेको लेखापरीक्षणमा अनुसन्धान गर्ने निकाय ढुक्क हुन सक्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहहरुमा भ्रष्टाचार बढिरहेको र त्यसमा धेरै विवरण लेखापरीक्षण भैसकेको कागजात पनि भेटिएको उल्लेख गरे । लेखापरीक्षकले लेखापरीक्षणका क्रममा त्रुटी भेटिए पनि त्यसलाई विस्तृत अनुसन्धानका लागि सुझावका रुपमा प्रस्तुत नगर्ने प्रवृत्ति रहेको पनि जानकारी दिए । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले सर्टिफिकेसन कोर्स अन फरेन्सिक एकाउन्टिङ एन्ड फ्रड डिटेक्सन नामको कोर्सअन्तर्गत ४० जनालाई तालिम दिइसकेको पनि कार्यक्रममा जानकारी दिइयो ।