नबिलले बिहीबारदेखि १ अर्ब २० करोडको म्युचुअल फण्ड बिक्री गर्दै, एक हजारमै लगानी गर्न सकिने
काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड-नबिल इन्भेष्टले आगामी बिहीबार अर्थात बैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फण्ड २ को इकाई बिक्री गर्ने भएको छ । नबिल इन्भेष्टले आफ्नो तेश्रो योजना नबिल ब्यालेन्स फण्ड २ को १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले वैशाख ५ गतेदेखि छिटोमा वैशाख ९ गते भित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् । यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ । नबिल ब्यालेन्स फण्ड २को मूख्य उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्युनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा इकाई धनीहरुलाई वितरण गर्नु रहेको संस्थाले जनाएको छ । त्यस्तै, योजनाको इकाईहरु नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाईने छ । जस अनुरुप अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । साथै, नबिल बैंक तथा नबिल इन्भेष्टले बीज पुँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानी गर्ने निर्णय गरिसकेको छ ।
नेप्से परिसूचक तीन महिना यताकै उच्च अंकमा, ८२ करोडको सेयर कारोबार
काठमाडौं । बुधबारको नेप्से परिसूचक तीन महिना यताकै उच्च अंकमा पुगेको छ । सो दिन नेप्से ४.९९ अंकले बढेर १२१७.०४ अंकमा पुगेको छ । गत पुस ११ गते बुधबार नेप्से १२१६ अंकमा रहेको थियो । त्यसपछि उतारचढाव स्थितिमा देखिएको नेप्से आज(बैशाख ४ गते) सो भन्दा एक अंकले बढेर उच्च अंकमा पुगेको छ । त्यस्तै, कारोबार रकममा पनि उल्लेख्य सुधार भइरहेको छ । बुधबारको बजारमा कूल ८२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ८ करोड रुपैयाँ बढी हो । मंगलबारको बजारमा नेप्से ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा स्थायी लेखा नम्बर(प्यान) लागु भएदेखि सेयर कारोबारमा वृद्धि भइरहेको छ । साथै, नयाँ वर्ष लागेसँगै सेयर बजारले पनि नयाँ गति लिँदै गइरहेको छ । बुधबार पनि मंगलबारको जस्तै वाणिज्य बैंकको बढी कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको ७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार अधिकांश वाणिज्य बैंकको बढी कारोबार, १५२ कम्पनीको सेयर मूल्य वृद्धि
मंगलबार कारोबार बढी भएका १० कम्पनीहरु काठमाडौं । मंगलबारको बजारमा अधिकांश वाणिज्य बैंकहरुको बढी सेयर कारोबार भएको छ । सो दिन उल्लेख्य कारोबार गर्ने १० कम्पनीहरु मध्ये ८ वटा वाणिज्य बैंक देखिएका छन् । सो दिन एनएमबि, एनआईसी एशिया, प्रभु, सिभिल, नेपाल, कुमारी, नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) र प्राइम कमर्सियल बैंकको बढी कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको ६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ रहेको छ । एनआईसी एशियाको ४ करोड ९८ लाख, प्रभुको ४ करोड ५८ लाख, सिभिलको ३ करोड ३२ लाख र नेपाल बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य क्रमशः ४९५, २६३, १६८ र २९९ रुपैयाँ रहेको छ । त्यस्तै, कुमारी बैंकको २ करोड ७५ लाख, एनसीसीको २ करोड ३० लाख र प्राइम कमर्सियल बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कुमारी बैंकको प्रतिकित्ता २६०, एनसीसीको २२९ र प्राइमको प्रतिकित्ता ३३९ रुपैयाँ रहेको छ । बजारमा तरलताको समस्या कम हुँदै गएको र बैंकको ब्याजदर घटिरहेकोले सेयर वाणिज्य बैंकको बढी कारोबार भएको हो । त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको रिपोर्ट अनुसार कम्पनीहरुको प्रतिसेयर आम्दानी पनि बढ्दै गएकाले त्यसको असर सेयर बजारमा देखिएको हो । सो दिन बजारमा कुल १७० कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १८ कम्पनीको मूल्यमा गिरावट देखिएको छ । सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६.६७ प्रतिशतले बढेको छ । यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले घटेको छ । जसको सेयर मूल्य अंकित मूल्य भन्दा तल घटेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँ रहेको छ ।