भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय, रुपन्देहीमा संख्या ६ पुग्यो

खस्यौली । शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरिद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली (३४) नं को शाखा स्थापनापछि शेयर खरीद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल आउनु पर्ने अवस्थाको अन्त्य भएको छ । “केही लगानीकर्ता आइरहनुभएको छ,” भिजन सेक्युरिटिज प्रालि ९३४० नं ब्रोकर कार्यालय, भैरहवाका सुदीप रिमालले भने । भैरहवामा शेयर खरिद तथा बिक्री कार्यालय नहुँदा लगानीकर्ता बुटवल आउनु पर्ने बाध्यता थियो । बुटवलमा एशियन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, आर्यनतारा इन्भेष्ट कम्पनीलगायत पाँच ब्रोकर कार्यालय छन् । पछिल्लो समय व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, शिक्षक लगायतले शेयरमा लगानी गर्न थालेको बताइएको छ । बुटवलमा रहेका पाँच ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको हाराहारीमा शेयर कारोवार हुँदै आएको छ । रासस

सेञ्चुरी बैंक र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । सेञ्चरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद पछिको सेयरको मूल्य समायोजन भएको हो । सेञ्चुरी बैंकको २ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १६६.६७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य २१४.८३ रुपैयाँ तोकिएको छ । त्यस्तै, ग्रामीण लघुवित्तको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३०.६७ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता २१५.५५ रुपैयाँ तोकिएको छ ।

४ अर्ब ७५ करोड राख्न नागरिक लगानी कोषले खोज्यो बैंक, बैशाख ३ गतेसम्म प्रस्ताव आह्वान

काठमाडौँ । नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्नका लागि बैंक खोजी गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशित गरी कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी गरेको जनाएको छ । निक्षेपमा लगानी गर्न नेपाल राष्ट्र बैंकबाट ‘क’ प्लस वर्गमा सूचीकृत बैंकले मात्र आवेदन दिन सक्ने कोषको लगानी महाशाखाले जानएको छ । बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी बैशाख ३ गते दिउँसो १ बजे भित्र शिलबन्दी प्रस्ताव बुझाउन कोषले आह्वान गरेको छ ।