नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो ।      कोषको गत आवको कर पछिको खुद नाफा एक अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको छ । जसमध्ये २५ करोड १२ लाख रुपैयाँ साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा दुई खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएको छ ।      साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ ।      साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट सेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताए । उनले संस्थालाई व्यवस्थित बनाएर लैजान दूरदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए ।      कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सेयरधनीले साधारणसभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाए । साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको उनले दाबी गरे । कार्यकारी निर्देशक कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताए । निगमले विमान खरिदका लागि कर्जा लग्दा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको उल्लेख गर्दै उनले ढिलोचाँडो असुली हुने अपेक्षा व्यक्त गरे ।       त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गरेको उनको भनाइ छ । कोषका तथ्याङ्क क्रमशः ‘डिजिटलाइज्ड’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिए ।   

१२५ कम्पनीको सेयर मूल्य बढ्यो, ६ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५२ अंकले बढेर २६४१ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १२५ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै युनियन हाइड्रोको २३ करोड, एसवाई प्यानलको २२ करोड, मन्जुश्री फाइनान्सको २१ करोड र दोर्दी खोला जलविद्युतको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   आजको कारोबार फाइनान्स समूह सबैभन्दा धेरै २.५५ प्रतिशतले बढेको छ । विकास बैंक ०.०१, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.०७, लगानी ०.११, निर्जीवन बीमा ०.३८, व्यापार ०.६७ प्रतिशतले बढेको छ । बैंकिङ ०.०८, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१ तथा माइक्रोफाइनान्स ०.०५ तथा अन्य ०.१३ प्रतिशतले घटेको छ ।  

लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बुधबार १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरूको प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट जवाफ दिएका थिए । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडको हाल ८९ शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ । बैंकले 'निरन्तर सहयात्रा' नारासहित उच्चस्तरीय, आधुनिक र सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।