भरतपुरका  २९ विषयगत सहकारी संस्था खारेज

चितवन । भरतपुर महानगरपालिकाले  २९ वटा विषयगत सहकारीसंस्था खारेज गरेको छ ।   प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९  विषयगत सहकारी संस्था खारेज गरिएको हो ।    भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रोजी केसीले नियमित रुपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरु खारेज गरिएको जानकारी दिए ।    महानगरभित्र कूल ३६३ सहकारी संस्था रहेकोमा उक्त  सहकारी संस्थाको खारेज पछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन् ।   

सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, २ अर्बको प्रिफेरेन्स सेयर जारी गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८औँ साधारण सभा सम्पन्न भएको छ । बुधबार नारायणहिटी पथस्थित बैंकको मुख्य कार्यालयमा अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाबाट बैंकको प्राथमिक पुँजीकोष सुदृढीकरण तथा व्यवसाय विस्तारलाई ध्यानमा राख्दै २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफेरेन्स) सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको छ । यसैगरी, सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक समूह ‘क’ बाट अनिल कुमार ज्ञवाली निर्वाचित भएका छन् भने सर्वसाधारण समूह ‘ख’ बाट प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा चयन भएका छन् । निर्वाचित सञ्चालकहरू आ–आफ्नो क्षेत्रमा अनुभवी र विज्ञ रहेको बैंकले जनाएको छ । उनीहरू बैंकिङ, अर्थतन्त्र, विकास व्यवस्थापन तथा विभिन्न उद्योग–व्यवसायका क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तित्व हुन् । बैंकले पूँजी आधार मजबुत बनाउँदै जोखिम वहन क्षमता वृद्धि र व्यवसाय विस्तारलाई तीव्रता दिन यस्तो निर्णय गरिएको जनाएको छ ।

कामना सेवा विकास बैंकद्वारा बुटवलमा विद्यार्थीलाई स्कुल ब्याग वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बुटवलमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकको बुटवल शाखामार्फत बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरिएको हो । कार्यक्रमका अवसरमा बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बालबालिकाहरूको प्रारम्भिक शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै सहयोग प्रदान गरिएको बताए । उनले विद्यालय जाने उमेरका बालबालिकाका लागि स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह बढाउनुका साथै अभिभावकहरूलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।