लुः निभा बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौँ । लुः निभा बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । सो सहकारीले सदस्यको हितविपरीत काम गरेको, वित्तीय दायित्व पूरा नगरेको, बचत फिर्ता गर्न नसकेकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । सहकारी ऐन, २०७४ अनुसार काठमाडौँ डिभिजन सहकारी कार्यालयमा सो सहकारी दर्ता भएको छ । मन्त्रालयले सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐन, २०७४ को दफा १०५ को उपदफा (१) अनुसार गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई तोकेको जानकारी मन्त्रालयका सह–सचिव एवं प्रवक्ता जनकाराज जोशीले दिए । नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये लगभग २२ हजारले वित्तीय कारोवार गर्छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालका सहकारी संस्थासँग झण्डै रु सात खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगार र ६३ हजार ब्यक्ति सहकारीमा आबद्ध छन् । रासस

लक्ष्मी भ्यालु फण्ड-१ का इकाईधनीले १५ प्रतिशत नगद लाभांश पाउने

काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड–१ ले आव २०७५/०७६ को लागि योजनाको इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबद्र्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड सञ्चालक समितिको बुधबार बसेको बैठकले लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ ले नगद लाभांश दिने निर्णय गरेको कम्पनी सचिव सन्दीप प्रधानले जनाएका छन् ।

पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै ६ अंकले बढ्यो नेप्से

काठमाडौ । पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक ६.२० अंकले बढेको छ । ०.४९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२६५.५७ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १ सय ६९ कम्पनीले कारोबार गरे । १२ लाख ६१ हजार ५ सय ९० कित्ता सेयर किनबेच हुँदा ३५ करोड ७८ लाख ३६ हजार १ सय ८५ रुपैयाँको कारोबार भएको छ । नेप्सेको १ सूचक रातो रहँदा अन्य सबै हरियो रहेका छन् । विकास बैक समूह ०.८४ अंकले घटेको हो । बैंक समूह २.०३, ट्रेडिङ् समूह ३.२२, होटल समूह ५.७३, जलविद्युत समूह ०.१७ वित्तीय समूह २.२२, निर्जीवन बीमा समूह ५३.९६, उत्पादनमूलक समूह १३.३२, अन्य २.२८, माईक्रोफाईनान्स ५२.४५, जीवन बीमा समूह ४६.५ र म्यूचुअल फण्ड समूह ०.०८ अंकले बढेका छन् । आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनियन हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले ४.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।