गुडविल फाइनान्सको नगद लाभांश पारित, निक्षेप र कर्जा दुबैमा वृद्धि

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न फाइनान्सको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष(आव)को मुनाफाबाट सेयरधनीलाई सो मात्रा अर्थात ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आवमा ६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, चालु आवको दोस्रो त्रैमासिकमा संस्थाले ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन प्रथम त्रैमासिकको तुलनामा २ करोड ७० लाख रुपैयाँ बढी हो । संस्थाले चालु आवको असोज मसान्तसम्ममा २ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी, चालु आवको असोज मसान्तमा ५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले पुस मसान्तसम्ममा ५ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ बाट वृद्धि गरी ४ अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ जम्मा रहेको छ ।  त्यस्तै, आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा संस्थाको मूल्य आम्दानी अनुपातमा वृद्धि भएको छ । त्यसैगरी, व्याज आम्दानी तथा कर्जा तथा सापट, कुल कर्जा/निक्षेप र कुल संचालन खर्च तथा कूल सम्पत्तीमा वृद्धि भएको छ । आव २०७३/७४मा १२.८८ प्रतिशतले बढेको संस्थाको आधार व्याजदर २०७४/७५ मा १३.५७ प्रतिशतले बढेको छ । संस्थाले निक्षेप र कर्जा दुबैमा वृद्धि भएपनि संस्थाको खुद नाफामा भने गिरावट देखिएको छ । आव २०७३/७४को तुलनामा २०७४/७५मा संस्थाको खुद नाफा ६.३४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १५.१७ प्रतिशत बढी नाफा कमाएको संस्थाले गत वर्ष जम्मा ८.८३ प्रतिशत कमाएको छ ।

चौतारी लघुवित्तको फागुन २९ गतेदेखि बुक क्लोज

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाको आगामी फागुन २९ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस वित्तीय संस्था आगामी चैत १६ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान ११ बजे बुटवलको सुख्खानगरस्थित आप्रपाली कटेज एण्ड रेष्टुरन्टमा बस्दै छ । उक्त सभाले संस्था मर्जर वा एक्विजिसनमा जाने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ ।

२७ विकास बैंकले सम्पन्न गरे वार्षिक साधारणसभा, बाँकी ६ वटाले कहिले गर्छन् ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत ३३ विकास बैंकमध्ये हालसम्म २७ वटा संस्थाले आ–आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । कुल संस्था मध्ये बाँकी ६ वटा संस्थाले भने फागुन लाग्दा पनि अझै साधारणसभा गरेका छैनन् । कम्पनी कानुन अनुसार पुस मसान्तभित्र साधारण गरिसक्नुपर्ने छ । त्यसैले, पुस मसान्तभित्र साधारणसभा गर्ने बैंक तथा वित्तीय संस्थाको वित्त प्रणाली र सुशासन पक्ष राम्रो मानिन्छ । हालसम्म साधारणसभा नगर्ने ६ संस्थामध्ये तीन कम्पनीले साधारणसभाको मिति घोषणा गरिसकेका छन् भने बाँकी तीन कम्पनीले भने अझै सभाको मिति तय गरेका छैनन् । एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र सहयोगी विकास बैंकले चैतसम्म साधारणसभा गर्ने मिति तय गरेका छन् । उता एनआईडीसी, ओम र वेष्टर्न डेभलपमेन्ट बैंकले भने अझै साधारणसभा गर्ने निधो गरेका छैनन् । त्यस्तै, भार्गव विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, देवः विकास बैंक, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, ज्योति विकास बैंक, काबेली विकास बैंक, कैलाश विकास बैंक, कामना सेवा विकास बैंक, कञ्चन डेभलपमेनट बैंक, कन्काई विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, सहारा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तिनाउ डेभलपमेन्ट बैंकले फागुन पहिलाे साता अघि नै साधारणसभा बोलाई सकेका छन् ।