स्वावलम्बन लघुवित्त वित्तीय संस्था १८ औं वर्षमा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएकाे छ । लघुवित्त अभियन्ता शंकरमान श्रेष्ठको प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको विशेष आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठले गरेका थिए । नेपाल राष्ट्र बैंक, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक तथा विशेष अतिथि जनकबहादुर अधिकारीले शुभकामना दिनुहुँदै नेपालका लघुवित्त वित्तीय संस्थाहरु मध्येको एक सक्षम संस्था स्वावलम्बनको लघुवित्त क्षेत्रको विकासमा विशिष्ट योगदान रहेको बताए । संचालक समितिका अध्यक्ष तथा समारोहका सभापति रामकुमार श्रेष्ठले आगामी दिनमा लघुवित्तमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि तथा आयस्तरमा वृद्धि गर्न उनीहरुको लागि सीप लगायत शिक्षा जस्ता विषय समेत संगसंगै लान र उनीहरुलाई सकृय राख्न वित्तीय संस्था अगाडी बढ्ने बताए । प्रमुख कार्यकारी अधिकृत भोजराज वस्यालले वित्तीय संस्थाले सानो सानो कर्जा, बचत, लघुवीमा लगायत वित्तीय साक्षरताको माध्यमबाट उद्यमशीलता विकास गर्दै आर्थिक सामाजिक रुपमा स्वावलम्बी समाजको निर्माण गर्न वित्तीय संस्था अग्रसर रहेको जानकारी दिएका छन् । पहिलैदेखि सेवा प्रदान गर्ने कर्मचारीहरुलाई सम्मान एवंम उक्त कार्यक्रममा उत्कृष्ट शाखा कार्यालय, ग्राहक सदस्य तथा कर्मचारीका छोरा छोरीहरु मध्ये २०७४ सालको एस.इ.इ. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने १२ जनालाई नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।हाल सातै प्रदेशका ५७ जिल्लामा रहेका १२८ शाखा तथा ९ इलाका कार्यालय मार्फत २ लाख ३० हजार बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ ।
महिला सहयात्रा माइक्रोफाइनान्सले ८ % नगद लाभांश वितरण गर्ने
काठमाडौँ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि.को छैठौं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नपा ९, चित्लाङको सभा कक्षमा माघ ५ गते सम्पन्न भयो । सभामा संस्थाका अध्यक्ष भाइराजा तुलाधरले आव २०७४/२०७५ को वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्य क्षेत्र र १२ करोेड १० लाख चुक्ता पूँजी रहेको सो वित्तीय संस्थाले आव २०७४÷०७५ को नाफाबाट शेयर धनीहरुलाई कर सहित ८ % नगद लाभांश वितरण गर्ने गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिबेदन र सोहि अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव २०७५/०७६ को लागि वाह्य लेखा परीक्षकमा रञ्जित एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सम्पन्न साधारण सभाले कम्पनीको नाम संशोधन गरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. नामाकरण गर्ने भएका प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले जानकारी दिइन् ।
अरुण काबेली पावरको सञ्चालक समिति गठन
काठमाडौँ । अरुण काबेली पावर लिमिटेडमा सञ्चालक समिति परिवर्तन भएको भएको छ । पुस ३० गते सम्पन्न सातौं र आठौँ वार्षिक साधारण सभाबाट सञ्चालक समिति गठन गरिएको हो । नयाँ सञ्चालक समितिमा संस्थापक समूहबाट गुरुप्रसाद न्यौपाने, जीवनराम शाक्य, बच्छराज तातेड र भेजप्रसाद तिमल्सिना चयन भएका छन् । त्यसैगरी साधारण समूहबाट मिलन खड्का र नोलकुमारी आचार्य तथा स्वतन्त्र सञ्चालकमा इन्द्रमणि धिताल चयन भएको कम्पनी सचिव सिर्जना खड्काले बताइन् ।