अन्तिम २ मिनेटमा ५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार अन्तिम समयमा गएर बढेको छ । अन्तिम दुई मिनेटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ । मंगलबार नेप्से २ बजेर ५८ मिनेटसम्म पनि घटेर राताम्य देखिएको थियो । तर अन्तिम २ मिनेटमा खरिदकर्ता हाबी भएर बजार एकाएक बढेको छ ।  मंगलबार नेप्से ०.२० प्रतिशत बढेर परिसूचक २६५५.९९ बिन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम भने ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर कारोबार भएको छ ।  बजार बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।  दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ६४२ पटक सेयर किनबेच भएको छ ।  १३ वटा मध्ये विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ भने बाँकी अन्य समूह बढको छ । आज लगानीकर्ता होटल तथा पर्यटन समूहमा आकर्षित भएका छन् ।   

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । क्रेस्ट माइक्रो लाइफले अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा हेटौडा–स्थित फेमस तास हाउस रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो । क्षेत्रीय प्रमुख अजय फुयलको सञ्चालनमा भएको कार्यक्रममा हेटौडा तथा आसपासका क्षेत्रका अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत अनुभव र सुझाव आदान–प्रदान गर्दै कार्यक्रममा सहभागिताले थप ऊर्जा र उत्साह प्रदान गरेको बताए । सम्मानित अभिकर्ताहरूले कम्पनीको भविष्यका योजना र लक्ष्यमा प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले लघु बीमाको विकास र विस्तारमा अभिकर्ताको महत्वपूर्ण भूमिकाबारे धारणा राखेका थिए । त्यस्तै, बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भावना र अभिकर्ताले अपनाउनु पर्ने रणनीतिबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।

नेक्सजेन म्यानेजमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई दिएको छ । नेक्सजेन म्यानेजमेन्टले १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर बजारमा ल्याउनेछ, जसको कुल मूल्य १५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ । आईपीओ निष्कासनसम्बन्धी सम्झौता साेमबार काठमाडौंको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलमा सम्पन्न भयो । सम्झौतामा नेक्सजेनका तर्फबाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको अधिकृत पूँजी १०० करोड रुपैयाँ र जारी पूँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले स्थापना भएको तेस्रो वर्षदेखि लगातार छ वर्षसम्म खुद मुनाफा आर्जन गर्दै आएको छ । गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्षको मुनाफा जगेडा कोषमा सारिएको जानकारी दिएको छ । कम्पनीको नेटवर्थ पनि अंकित मूल्यभन्दा उच्च रहेको छ । कम्पनीका अध्यक्ष पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन् । सम्झौता कार्यक्रममा शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको पनि उपस्थिति रहेको थियो ।