५२६ अभिकर्तालाई सम्मान गर्दै नेशनल लाइफको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने 'चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम' ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ । आ.व. २०८१/२०८२ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ५२६ जना अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले चर्चित मोटिभेटर प्रशिक्षक एवं पूर्व बैंकर अनिल केशरी शाहले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणको क्रममा उनले कुनैपनि क्षेत्रमा सफल हुनका लागि कुनै पनि क्षेत्र वा पेशामा नेतृत्व लिन सक्ने हैसियत बनाएमा आफ्नो पेशामा सफल हुन सक्ने बताए । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पत्ती शुद्धिकरण सम्वन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पर्न सक्ने नकरात्मक प्रभाव र सो रोकथामका लागि अवलम्वन गर्नुपर्ने उपायहरुका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरेकी थिइन् । सो अवसरमा कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता प्रकट गरिन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्दै जाने योजना अनुरुप अभिकर्ताहरुलाई थप व्यवसायिक बनाउन कम्पनी प्रयत्नशील रहेको बताइन् । उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट भएको सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ठ घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गर्नुका साथै सो समारोहमा नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो भने नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना लाई सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । विविध मनोरञ्जनात्मक प्रस्तुति सहित सम्पन्न सो कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।
४ अर्ब ६६ करोड लगानी गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६६ करोड लगानी गर्ने भएको छ । कोषको विभिन्न बैंकमा रहेको रकमलाई लगानी गर्न लागिएको हो । उक्त रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र क वर्गका बैंकहरुले कात्तिक २४ गते भित्र लिन सक्नेछन् । कोषले रकम लिन चाहने बैंकहरुका लागि शर्त समेत तोकेको छ । सो रकम लिन चाहने बैंक सञ्चालनमा आएको कम्तीमा पाँच वर्ष पूरा गरेको हुनुपर्नेछ भने पछिल्लो आर्थिक वर्षहरुमा लगातार पाँच वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ । त्यस्तै नेपाल राष्ट्र बैंकबाट तोकिएको न्युनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पती स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात वा कर्जा/निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको, लगानी गरिने बैंक वा त्यसको कार्यकारी अध्यक्ष, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले प्रचलित कानून बमोजिम सचेत गराउने बाहेकका अन्य जरिवाना वा सजाय गरेको अवस्थामा सो कारवाही भएको ६ महिना पूरा भएको, शिघ्र सुधारात्मक कारवाहीमा परेको भए सो कारवाही फुकुवा भएको कम्तिमा तीन महिना पूरा भएको हुनुपर्ने कोषले जनाएको छ । यस्तै, अन्य शर्तमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको, नेपाल सरकारको स्वामित्व रहेका बैंक बाहेकका अन्य बैंकको हकमा सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको हुनुपर्ने उल्लेख छ । कोषले लगानी गर्न सूचना प्रकाशित गरको रकम लगानी गर्ने/नगर्ने अधिकार कोषमा सुरक्षित रहनेछ । मापदण्ड तथा शर्त पूरा गरेको व्यहोराको स्वघोषणा शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ । कोषकाअनुसार शिलबन्दी दरभाउपत्रमा उल्लेखित वित्तीय परिसूचकहरु त्रैमासिक रुपमा प्रकाशित गरेको हुनुपर्नेछ । कुनै वित्तीय परिसूचकहरु मासिक रुपमा प्रकाशित गरेको हकमा आफ्नो आन्तरिक लेखापरीक्षकबाट अनिवार्य रुपमा प्रमाणित गराएको हुनुपर्नेछ ।
बीमालाई सामाजिक अभियानका रूपमा अगाडि बढाउँदै सानिमा रिलायन्सका म्यानेजर रिजाल
काठमाडौं। नेपालजस्तो विकासशील मुलुकका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यम हो । यसले आकस्मिक जोखिमको समयमा आर्थिक सहारा प्रदान गर्दै गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्छ। यही चेतनालाई आत्मसात गर्दै बुटवलका सुवास रिजालले बीमालाई महाअभियानका रूपमा अगाडि बढाइरहेका छन् । बुटवलबाट जीवन बीमा व्यवसाय गरिरहेका सुवास रिजाल विगत ७ वर्षदेखि कार्यरत छन् । कपिलबस्तुमा १० सन्तानमध्ये नवौँ सन्तानका रूपमा जन्मिएका रिजालले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका हुन् । कपिलबस्तुबाट माध्यमिक, प्लस टु पोखरा, स्नातक पोखरा, र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन् । अध्ययनपछि कोरियामा ५ वर्ष काम गरेर फर्किएका उनले बीमा अभिकर्ताको पेशालाई व्यवसायिक रूपमा अगाडि बढाइरहेका छन् । उनको बीमामा लाग्नुको पृष्ठभूमि भने मार्मिक छ । आज भन्दा ७ वर्षअघिको कुरा हो, पाल्पाको सिद्धबाबा नजिकै ठुलो पहिरो गएको दिन उनी पनि यात्रामा थिए । यस क्रममा एक जना डाक्टर र उनकी श्रीमती घटनास्थलमै मृत्यु भए । यस घटनाले उनलाई रातभर निद्रा लाग्न दिएन । जीवन अनिश्चित रहेको अनुभूति भएपछि उनले निर्णय गरे, अनिश्चिततालाई रोक्न सकिँदैन, तर त्यसबाट हुने जोखिम न्यून गर्न सकिन्छ । उनी सानिमा रिलायन्सको बुटवल शाखामा गएर आफ्ना एक वर्षीय बच्चा, श्रीमती, र आफ्नै बीमा गरी यस पेशामा प्रवेश गरे । यस क्रममा कम्पनीका क्षेत्रीय कार्यालयका प्रवन्धक जयदेव गौतम र शाखा प्रमुख प्रकाश गौतमसँग बीमाबारे धेरै सिक्ने मौका पाए । कोभिड–१९ अघि करिब एक महिनाको आएजाने क्रममा उनले आफ्नो बीमा मात्र गरेनन्, अभिकर्ता बनेर व्यवसायिक रूपमा अगाडि बढ्न पनि प्रेरणा पाए । यसपछि उनी बीमा अभिकर्ता पेशालाई सामाजिक कामको रूपमा अंगालेर अगाडि बढ्ने दृढताका साथ लागे। २०–२५ दिनको उक्त बसाइले उनलाई पेशामा लाग्ने हौसला दिएको थियो । रिजाललाई अभिकर्ता पेशा अन्य व्यवसाय जस्तै महत्वपूर्ण लाग्छ । कसैले सामान ६ सयमा खरिद गरी १ हजारमा बेचेको नाफा कसैले टिप्पणी गर्दैन, तर बीमा व्यवसायमा नियम अनुसारको कमिशनमाथि आलोचना हुँदा उनलाई दुख लाग्छ । सुरुवाती चरणमा उनले बुटवलका ठूला व्यक्तिको ठूला बीमा गराए । तर क्षेत्रीय र शाखा प्रमुखले भने, 'यदि समाजमा चिनिन चाहनुहुन्छ र साच्चिकै समाजसेवा गर्नु छ भने ग्रामीण बस्तीका व्यक्तिलाई बीमा गराउनुहोस् । यसले पुण्यको काम हुन्छ ।' यसपछि उनी आफ्नै जन्मस्थल कपिलबस्तुको ग्रामीण बस्तीमा पुगे । ठूला व्यक्तिबाट बीमा गराउँदै आएका रिजाल गरिब व्यक्तिका छोराछोरीको बीमा गर्न पुगे । तत्कालिन अवस्थामा उनी सानिमा लाइफको सबैभन्दा धेरै पोलिसी जारी गर्ने अभिकर्ता बने। यसरी उनले बीमालाई अभियानको रूपमा अगाडि बढाए । यस क्रममा उनलाई तीतो–मिठा अनुभव पनि भए । कोभिड–१९ अघि एउटा आफन्तलाई बीमाको प्रस्ताव राख्दा स्वीकार भएन। पछि उक्त व्यक्ति कोभिड–१९ मा संक्रमित भए र उपचारमा २०–३० लाख खर्च भए पनि ज्यान गयो। यसले उनलाई बीमामा लाग्ने प्रेरणा दियो । रिजाल बुटवलको स्वागतम बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष पनि थिए । त्यहाँ ऋण समितिका सदस्यको काकीलाई बीमाको प्रस्ताव राख्दा केही दिन पर्खन अनुरोध भयो । दुर्भाग्यवश, उनी बुटवल–भैरहवा जाँदै गर्दा दुर्घटनामा मृत्यु भए । रिजाल भन्छन्, 'किड्नी फेल भएर बाटा–बाटामा हिँडिरहेको देख्दा मलाई लाग्छ, यदि ति व्यक्तिलाई समयमा बीमा गराउन सकिएको भए यस्तो दिन भोग्नुपर्दैनथ्यो ।' तराइका ग्रामीण क्षेत्रमा मानिसहरू दैनिक पान, चुरोट, रक्सी सेवन गर्छन् । यदि तिनीहरूले केवल भोला खान रोक्न सक्थे भने ५ लाखको बीमा गर्न सक्थे। उनी गाउँ–गाउँ गएर यस चेतना फैलाइरहेका छन् । अर्घाखाचीका पहाडी क्षेत्रका गाई–बाख्रा पालन गर्ने कृषकलाई बाख्राको मूल्य बराबरको बीमा गराउन सुझाउँछन्, जसले बालबालिकाको उच्च शिक्षा सहज बनाउँछ । अभियानका क्रममा उनले गाउँ–गाउँमा मात्रै काम गरेका छैनन्, त्यहाँका नयाँ अभिकर्ता बनाएर ठूला टिम पनि निर्माण गरेका छन् । हजारौंलाई बीमा गराइसकेका, सयौं अभिकर्ता तयार पारेका रिजाल २०२२ मा एमडिआरटी क्वालिफाइ भएको र २०२३ मा उनकी श्रीमती राधिका पोखरेल पनि क्वालिफाइ भएकी छन् । बीमाबाट अहिलेसम्म एउटा पनि दाबी परेको छैन । यसले उनलाई एजेन्सी म्यानेजर बनाउने प्रोत्साहन दिएको छ। उनी मासिक ४–५ लाख आम्दानी गर्दै आफ्नै टिम निर्माणमा लागेका छन् । कोरियामा ५ वर्ष काम गरेर फर्किए पनि नेपालमा राम्रो आम्दानी गर्न सक्नुले उनलाई थप हौसला दिएको छ । बीमाको महत्व रिजालले सहरीदेखि ग्रामीण क्षेत्रसम्म एजेन्सी निर्माण गरिसकेका छन् । लक्ष्य नेपालभर एजेन्सी फैलाउनु हो । मानिसहरूले अनावश्यक खर्च बढी गर्ने तर बीमा गर्न पैसा नभएको प्रवृत्ति देखिएको छ । बीमामा प्रारम्भमा धेरै नकारात्मकता थियो, अभिकर्ताले शुल्क बुझाए पनि कम्पनीमा नगएको घटना सुन्न पाइन्थ्यो । यसले मानिसलाई बीमाप्रति नकारात्मक बनाएको थियो । गाउँ–गाउँमा जाँदा केही बीमितले विरोध पनि गरे । उनी भन्छन्, 'कतिपय गल्ती अरूले गरे पनि मैले जवाफ दिनुपर्छ । गल्ती स्वीकार गरेर बाँकी कुरा बुझाउनुपर्छ ।' बीमाले गाउँ–गाउँमा रुपान्तरण ल्याउने एकमात्र विकल्प हो । कतिपय परिवारमा ५ कक्षा भन्दा माथि पढेका छैनन् । अभिकर्ता बनाउने योग्यता नभए पनि उनी बीमाको अभियान मार्फत सबैलाई बीमाको दायरामा ल्याएर आर्थिक र सामाजिक अवस्था सुधार्ने प्रण गरेका छन् । उनले विद्यालय र क्लबसम्म पुगेर बीमाबारे जागरूकता फैलाइरहेका छन्। परिवारमा सदस्य विरामी हुँदा चन्दा उठाउनुपर्ने अवस्था छ भने बीमा गरे जोखिम न्यून गर्न सकिन्छ । रिजाल भन्छन्, 'यदि सबैलाई बीमा गर्ने हो भने समाजमा क्रान्ति आउँछ । समयमा बीमा गर्दा बचत क्षमता बढ्छ । कमाएको निश्चित रकम बीमा मार्फत बचत गर्दा गरिबी दर घट्छ । त्यसैले हामी गरिब बस्तीमा पुगेर यो महाअभियान अगाडि बढाइरहेका छौं ।'