सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘एसपीआईएल लेन्स’ त्रैमासिक न्यूजलेटर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्युजलेटर ‘एसपीआईएल लेन्स’ को औपचारिक रूपमा शुभारम्भ गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्युजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्बन्धी ज्ञानवर्धक सूचनाका लागी यो प्रकाशन महत्वपूर्ण हुने बताए । कम्पनीका अनुसार एसपीआईएल लेन्स न्युजलेटरमा कम्पनीको वित्तिय सूचकांक, व्यवस्थापन गतिविधि तथा योजनाहरू सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिने छ । साथै नेपालको बीमा उद्योगको विश्लेषण तथा अन्तर्राष्ट्रिय निर्र्जीवन बीमा बजारका गतिविधि र तिनका प्रभावहरू समेत समेटिनेछ । कार्यक्रममा बोल्दै सीईओ क्षेत्रीले एसपीआईएल लेन्स केवल एक न्यूजलेटर मात्र नभई बीमा उद्योगलाई बुझ्न, अध्ययन गर्न र विश्लेषण गर्न चाहने सबैका लागि मूल्यवान स्रोत बन्ने बताए । उनले कम्पनीले सरोकारवालाहरू सँगको संवादलाई अझ गहिरो बनाउने उद्देश्यका साथ यो प्रकाशन ल्याएको उल्लेख गरे । कम्पनीका अनुसार एसपीआईएल लेन्स हरेक तीन महिनामा नियमित रूपमा प्रकाशित गरिनेछ र डिजिटल माध्यम मार्फत उपलब्ध हुनेछ ।
हिमालयन क्यापिटलको १५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित क्यापिटलको केन्द्रीय कार्यालय (आइटी प्लाजा) मा आयोजना गरिएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजना प्रस्तुत गर्दै सेयरधनी, ग्राहक तथा सरोकारवालाहरूको निरन्तर साथ र सहयोगप्रति आभार व्यक्त ग रे। त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले प्रविधिको उच्चतम प्रयोगमार्फत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक, डिपोजिटरी तथा संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
इसेवा र नेपाल लाइफको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवाले बीमा प्रदायक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ग्राहकका लागि ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भार कम गर्ने उद्देश्यले यो योजना ल्याइएको इसेवाले जनाएको छ । योजनाबारे जानकारी दिँदै इसेवाका ओमकार पाण्डेले संकटको समयमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सुलभ प्रिमियममा उपलब्ध यस योजनाले जीवन बीमालाई सबैका लागि पहुँचयोग्य बनाउने बताए । पूर्ण रूपमा डिजिटल यस जीवन बीमा योजनाको खरिद प्रक्रिया सहज, छरितो र झन्झटमुक्त रहेको छ। वार्षिक प्रिमियम ७२५ रुपैयाँबाट सुरु हुने यस योजनाअन्तर्गत बीमितले ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजना हो, जसमा १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको स्वाभाविक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ । अकस्मात् हुने जोखिमका बेला परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकतामा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् भने पोलिसी तुरुन्तै एसएमएस तथा इमेलमार्फत प्राप्त हुने जनाएको छ ।