आइएमई लाइफलाई एशिया इमर्जिङ इन्स्योरेन्स अवार्डमा तीन उपाधि

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित एशिया इमर्जिङ इन्स्योरेन्स अवार्ड्समा तीनवटा विधामा उपाधि हात पारेको छ । कम्पनीले उत्कृष्ट ग्राहक–मुखी सेवा, बीमा नेतृत्वमा महिला तथा बीमामा पहुँच विस्तारका लागि उपाधि प्राप्त गरेको हो । साथै, उत्कृष्ट रणनीति विधामा सानिमा रिलायन्स लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा उपाधि हासिल गरेका छन् । यस सम्मानले बीमा जागरूकता विस्तार, आधुनिक प्रविधि–सञ्चालित सेवा प्रदान तथा बीमा क्षेत्रमा महिला नेतृत्वलाई प्रोत्साहन गर्ने कम्पनीको प्रयासलाई पहिचान गरेको छ । शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा आयोजित सम्मान समारोहमा सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्याल र प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्त रूपमा उपाधि ग्रहण गरेका हुन् । समारोहका अवसरमा प्रमुख कार्यकारी अधिकृत खड्काले डिजिटल र एआई प्रविधिको प्रयोगमार्फत अभिकर्ताको भूमिकालाई सशक्त बनाउने विषयमा विचारकका रूपमा नेपालको प्रतिनिधित्वसमेत गरेका थिए । उनले नेपालमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्ने कम्पनीको रणनीतिबारे पनि धारणा राखेका थिए । गत वर्ष पाँचौं संस्करणमा पनि आइएमई लाइफले उत्कृष्ट जीवन बीमक, बीमा नेतृत्वमा महिला तथा बीमामा पहुँच विस्तारका लागि उत्कृष्ट रणनीति विधासहित तीनवटा उपाधि जितेको थियो । सन् २०२३ मा आइएमई लाइफ उक्त समारोहमा उत्कृष्ट जीवन बीमकको उपविजेता बनेको थियो ।  

सानिमा रिलायन्स लाईफले पायो अन्तर्राष्ट्रिय ‘बेस्ट स्ट्राटेजी’ अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ विधामा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजना गरिएको हो । एसियाका उदाउँदा बीमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक–केन्द्रित पहलहरूको मूल्याङ्कन गरी प्रदान गरिने यस अवार्डलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मानका रूपमा लिइन्छ । यस विधामा सानिमा रिलायन्स लाईफको छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी तथा व्यवहारिक रणनीतिक सोचको प्रतिविम्ब भएको कम्पनीले जनाएको छ । अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्नु गौरवको विषय भएको बताए । उनले यो अवार्ड कम्पनीको रणनीतिक दृष्टिकोण, टिमको समर्पण र ग्राहक–केन्द्रित सेवाको मान्यता भएको उल्लेख गरे । साथै, सानिमा रिलायन्स लाईफ सधैं बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने लक्ष्यमा केन्द्रित रहेको उनको भनाइ छ । यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले अन्तर्राष्ट्रिय अवार्डले कम्पनीलाई नेपालमा मात्र नभई एसियाली बीमा बजारमा समेत सक्षम, रणनीतिक र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा थप स्थापित गरेको बताए । उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले एशियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान र ग्राहक–केन्द्रित नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल कम्पनीले देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी पाँच अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा आबद्ध छन् ।

नागरिक लगानी कोषको नाफा ६.९१ प्रतिशत बढ्यो, साढे ३१ अर्ब रुपैयाँ सेयरमा लगानी

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)को चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ६.९१ प्रतिशत बढेर बढेर ६६ करोड ५३ लाख २४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा सीआईटीले ६२ करोड २२ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा सीआईटीको ब्याज आम्दानी १७ करोड ३६ लाख ४० हजार रुपैयाँ, सेवा शुल्क तथा कमिसन आम्दानी ८३ करोड ९४ लाख ८८ हजार रुपैयाँ, विविध आम्दानी ५ करोड ६२ लाख २० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३३ लाख ७१ हजार रुपैयाँ ब्याज आम्दानी, सेवा शुल्क आम्दानी ८१ करोड १ लाख ९६ हजार रुपैयाँ, विविध आम्दानी ३ करोड ५९ लाख ६८ हजार रुपैयाँ गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६ करोड ९३ लाख ४८ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने १८ करोड १८ लाख ३० हजार रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९५ लाख ३५ हजार रुपैयाँ कुल आम्दानी गरेर २० करोड ८६ लाख ५२ हजार रुपैयाँ कुल खर्च गरेको थियो । कुल खर्चमा १४ करोड २५ लाख ३४ हजार रुपैयाँ व्यवस्थापनमा र ३ करोड ९२ लाख ९७ हजार रुपैयाँ खर्च व्यवस्थामा खर्च भएको कम्पनीले जनाएको छ ।  पुस मसान्तसम्ममा ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सीआइ्र्रटीको खुद कोष मौज्दातमा २ खर्ब ९४ अर्ब ६५ करोड ३३ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुसमा चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार रुपैयाँ र खुद कोष मौज्दातमा २ खर्ब ६४ अर्ब ३५ करोड ९७ लाख ९८ हजार रुपैयाँ थियो ।  समीक्षा अवधिमा कम्पनीको लगानी २ खर्ब ९८ अर्ब ६७ करोड ८४ लाख ६३ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुसमा २ खर्ब ६४ अर्ब ७७ करोड ७५ लाख ३८ हजार रुपैयाँ लगानी गरेको थियो ।  कम्पनीका अनुसार नेपाल सरकारको ऋणपत्रमा १३ अर्ब १२ करोड ७६ लाख ४५ हजार रुपैयाँ, बैंकको मुद्दती निक्षेपमा १ खर्ब ४५ अर्ब ४० करोड ५५ लाख ९ हजार रुपैयाँ, समयकालीन कर्जामा २६ अर्ब ३१ करोड ६७ लाख ५५ हजार रुपैयाँ, सहायक कम्पनीमा २ अर्ब ७२ करोड ४६ लाख ७५ हजार रुपैयाँ, सहभागी सापटी तथा आवास कर्जा ६५ अर्ब २३ करोड ९१ लाख ७१ हजार रुपैयाँ, ट्रेजरी बिलमा १४ अर्ब १७ करोड ९३ लाख ९६ हजार रुपैयाँ र संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड ५३ लाख १३ हजार रुपैयाँ लगानी गरेको छ ।  कम्पनीको रिटर्न अन इन्भेष्टमेन्ट ४.४९ प्रतिशत, फण्ड इन्भेष्टमेन्ट रेसियो ९९.८१ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ छ ।