आरविवि मर्चेन्ट बैंकिङद्वारा लिङ्कन कलेजमा वित्तीय शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्दै लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डको पहलमा विश्व लगानीकर्ता सप्ताह-२०२५ देशभर मनाइँदैछ । मंसिर २५ देखि पुस २ गतेसम्म सञ्चालन हुने यस सप्ताहअन्तर्गत विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरिँदै आएका छन् । यसै क्रममा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले पुस १ गते लिङ्कन कलेज, शामाखुसी, काठमाडौंमा स्नातक तहमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरूका लागि वित्तीय शिक्षा अभिवृद्धि सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रममा कलेजका प्राध्यापकसहित विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र वरिष्ठ अधिकृत राम नारायण तिवारीले सहजीकरण गरेका थिए । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अजय घिमिरे र राम नारायण तिवारीले दिएका थिए । विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित उक्त कार्यक्रमले पूँजीबजारसम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने तथा सहभागीहरूले सेयर लगानीसम्बन्धी आधारभूत ज्ञान हासिल गरी लाभान्वित भएको विश्वास लिइएको छ ।   

१८७ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले बढेर २६१९ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२५ कम्पनीको ७८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै लुम्बिनी विकास बैंकको १० करोड, हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख, सीइडीबी होल्डिङको ९ करोड र राधी विद्युत कम्पनीको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्तको १० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशत र एसवाई प्यानलको ९.९८ प्रतिशले सेयर मूल्य बढेका छन् । मंगलबारको कारोबरमा व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार ०.०१ प्रतिशतले घटेको छ । बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०. ८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशतले बढेका छन् ।

आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लेखापरीक्षकमा श्री 'एसएआरएसोसिएट्स' चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ । फाइनान्सका अनुसार चुक्तापूँजी एक अर्ब अठार करोड चौतीस लाख रुपैयाँ रहेको छ । हालसम्म संस्थाले २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधि मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।