हकप्रद सेयर जारी गर्न एचआईडीसीएलले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल) ले हकप्रद सेयर निष्काशन गर्नको लागि बुक क्लोजको मिति तय गरेको छ । जेठ १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरको लागि आवेदन दिन योग्य रहनेछन् । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीकाे शतप्रतिशत अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले गत जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो । सम्बन्धित समाचार एचआईडीसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने
लगानीकर्ताबाट मात्रै ३२ अर्ब बढी कर उठाउने सरकारको लक्ष्य, गत वर्षकोभन्दा २४५ प्रतिशत बढी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीगत लाभकरबाट मात्रै ३२ अर्ब रुपैयाँ बढी कर उठाउने लक्ष्य राखेकाे छ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा वर्तमान स्रोत र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट गरी कूल ३२ अर्ब २ करोड ६ लाख रुपैयाँ कर उठाउने लक्ष्य लिएको हो । जुन गत वर्षको तुलनामा २४५ प्रतिशतभन्दा बढी हो । सरकारले गत वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ बाट कूल ९ अर्ब २७ करोड ०८ लाख रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो । त्यस्तै, चालु आवको संशोधित अनुमानित पुँजीगत लाभकरको तुलनामा आगामी वर्षको पुँजीगत लाभाकरको लक्ष्य ५.०६ प्रतिशतले बढी हो । सरकारले चालु आवमा ३० अर्ब ४७ करोड ८० लाख रुपैयाँ बराबरको पुँजीगत लाभाकर उठाउने संशोधित अनुमान गरेको छ । आगामी आवमा सरकारले वर्तमान श्रोतबाट ३१ अर्ब ३८ करोड २ लाख र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ६४ करोड ४ लाख रुपैयाँ पुँजीगत लाभ कर उठाउने लक्ष्य लिएको छ । त्यस्तै, सरकारले आगामी वर्षदेखि लागू हुनेगरी दोश्रो बजारका अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई छुट्टाछुट्टै करको व्यवस्था गरिदिएको छ । बजेट मार्फत सरकारले अल्पकालिन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ५ प्रतिशत(हालको बामोजिम) कर लागू गर्ने नयाँ व्यवस्था गरेको हो । यसअघि अल्पकालिन र दीर्घकालिन दुबै लगानीकर्तालाई बराबर अर्थात ५ प्रतिशत नै पुँजीगत लाभकर गरिँदै आएको थियो । नयाँ व्यवस्था अनुसार अब सेयर किनेको एक वर्षअघि नै बिक्री गर्ने लगानीकर्ताले ७.५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । र, सो अवधिभन्दा पछि सेयर बिक्री गर्ने लगानीकर्ताले पुँजीगत लाभकर बमोजिम ५ प्रतिशत कर सरकारलाई बुझाउनुपर्ने भएको छ ।
पुँजीबजारका लगानीकर्तालाई कस्तो लाग्यो बजेट ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरिसकेको छ । विभिन्न क्षेत्रलाई राहतका कार्यक्रम ल्याएको बजेटले पुँजीबजारको क्षेत्रलाई भने खासै केही समेटेको छैन । सरकारले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् । साथै, सरकारले म्युचुअल फण्डको इकाई बिक्री गर्दा कर नलाग्ने पनि व्यवस्था गरेको छ । यसअघि म्युचुअल फण्डको इकाई बेच्दा म्युचुअल फण्ड सञ्चालन गर्नेको नाफामा कर लाग्ने वा नलाग्ने भन्ने विषयमा दुविधा रहेको थियो । त्यसलाई स्पष्टता बनाउँदै अर्थमन्त्री पौडेलले अब आगामी वर्षदेखि कर नलाग्ने बताएका हुन् । त्यस्तै, सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने भएको छ । यससँगै अब ग्राहकले एनटीसीको सिमसँगै एनटीसीको सेयर पनि पाउने छन् । के भन्छन् बजारका लगानीकर्ताहरू ? अम्बिकाप्रसाद पौडेल- समग्रमा राम्रो बजेट समग्रमा ठीक छ । अन्य क्षेत्रमा राम्रै लाग्यो तर पुँजीबजारको क्षेत्रमा हामीले उठाउको विषय पाइएन । कमोडिटी मार्केट सञ्चालन गर्ने र म्युचुअल फण्डको कर हटाइएको छ । बाँकी सबै जस्ताको त्यस्तै छ । बजारमा आफ्नो गतिमा गएको हुनाले पनि होला बजेटले केही सम्बोधन गरेन । दीर्घकालिन र अल्पकालिन लगानीकर्तालाई वर्गीकरण गरिनुपर्थ्यो, त्यो गरिएन । यद्दपि, समग्रमा अहिलको सन्दर्भमा स्वास्थगत पूर्वाधारलाई महत्वपूर्ण स्थान दिएको हुनाले राम्रो छ । छोटेलाल रौनियार- केही नबोल्नु नै बजारको लागि सकारात्मक पुँजीबजारको लागि खासै बजेटमा केही आएन । तर पनि राम्रो हो । यो अवस्थामा पुँजीबजारको सम्बन्धी केही नबोल्दा पनि बजारको लागि सकारात्मक रुपमै लिनुपर्छ । नकारात्मक केही आएन । यो नै बजारको लागि राम्रो हो । उत्तम अर्याल- समग्रमा बजारको लागि सकारात्मक आगामी आर्थिक वर्षको बजेट वितरणमुखी बजेट छ, जसले समग्र वित्तीय क्षेत्रमा राम्रो हुन्छ । एनटीसीको २२ प्रतिशत सेयर पब्लिक अर्थात ग्राकहकलाई दिने भनिएको छ । अब यसको मूल्याङ्कन सरकारले कसरी गर्छ । पहिला कोरियन कम्पनीलाई दिने बेलामा सम्पत्तिको २५/२६ सयको मूल्याङ्कन गरिएको भन्ने थियो । अब यो बजारमा एफपीओ जसरी आउने भयो । करिब १५/१६ सयमा आउला की भन्ने अनुमान हो । यदी सरकार भइरह्यो भने असोजसम्ममा मूल्याङ्कन होला । म्युचुअल फण्डको कर छुट छ । यसले म्युचुअल फण्डहरुलाई फाइदा हुने भयो । रेमिट्यान्समा थप १ प्रतिशत कर छुट दिने भनिएको छ । समग्रमा बजारको लागि सकारात्मक नै छ । राधा पोखरेल- लगानीकर्ताको लागि बजेट हर्ष न विस्मात बजेट राम्रै छ । तर पनि हामीले अपेक्षा गरेको अनुसारको केही पनि आएन । किनभने बजारलाई थप सुधार गरिने भनिएको छ । तर प्रत्यक्ष रुपमा लगानीकर्तालाई लाभ हुने खालको बजेट आएको छैन । समग्रमा भन्नु पर्दा लगानीकर्ताको लागि बजेट हर्ष न विस्मात । संरक्षणा चौधरी- हात्ती आयो हात्ती आयो फुस्सा पुँजीबजारको लागि बजेटमा केही पनि छैन । यसपालिको बजेटमा त पुँजीबजारको विकास गरिने भन्ने पनि सुन्न पाइएन । विद्युतीय उत्पादनलाई जोड दिने भनिएकोले जलविद्युत क्षेत्रको लागि प्राथमिकता दिएको छ । यसले हाइड्रो क्षेत्रको लागि राम्रो छ । त्यस्तै, एनटीसीको सेयर पब्लिकलाई दिने भनिएकोले यसले सेयर सप्लाई थप बढ्ने भएको छ । अन्य बजेट सबै कोभिड केन्द्रित नै आएको छ । नयाँ लगानीकर्तालाई प्रोत्साहान गर्ने बजेट आउनुपर्ने हो, तर हामी बजारका लगानीकर्ताको लागि भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझै भएको छ । प्रकाश तिवारी- वितरणमूखी बजेट बजेट भयङ्कर वितरणमूखी बजेट आयो । तर, पुँजीबजारको लागि भने केही पनि देखिन । बजेटबाट हामीले केही आश पनि गरेका थिएनौं र आएन पनि । अबको नीति तथा कार्यक्रमले बजारलाई विकास गर्ने लगायत दीर्घकालिन बनाउनको लागि केही आउछ की भन्ने आशा छ ।