नेपाल बैंकर्ससहित विभिन्न ८ संघ मिलेर शुरु गरे हातेमालो सामाजिक अभियान

काठमाडौं । नेपाल बैंकर्स संघसहित विभिन्न ८ संघको संयुक्त पहलमा हातेमालो सामाजिक अभियान शुरु भएको छ । महामारीको समयमा विभिन्न सरोकारवालाहरु एक हुनुपर्ने आवश्यकता महसुस गर्दै नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले स्वैच्छिक रुपमा सामुहिक हिसाबले अघि आई हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका हुन् । हाल कोभिड १९ को महामारीले गर्दा नेपालको स्वास्थ्य प्रणालीमा पर्न गएको असरले मानव जीवनको अकल्पनीय क्षतिका साथै देश अहिले पनि यस चुनौतीसँग लडिरहेको अवस्थामा केही सहयोग हुने अपेक्षसहित उक्क अभियान शुरु गरिएको जनाइएको छ । यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आवद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम नागरिक समेतले संस्थागत र व्यतिगत रुपमा एकजुट भई सहयोग गर्ने थलोको रुपमा स्थापना गरिएको हो । र, यस कोषमा जम्मा भएको रकम तत्कालका आवश्यकतालाई मध्यनजर गर्दै प्रभावकारी ढंगबाट परिचालन गरिने जनाइएको छ । हातेमालो मार्फत समाजका सरोकारवाला र आम नागरिक समेतलाई यस विषम परिस्थितिको प्रभावकारी रुपमा सामना गर्न एकजुट भई आर्थिक सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।

नेपाल डिजिटल पेमेन्ट्सले डिजिटल भुक्तानीलाई थप विस्तार गर्ने, एनसीएचएलसँग गर्यो सम्झौता

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरिएको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ । कम्पनीले डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताको लागि एनसीएचएलसँग सम्झौता गरेको हो । सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् एनडीपीसीले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल-टाइम तथा नन-रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ भने एनडीपीसीले आफ्नो वित्तीय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ्ग पहुँच बढाउन थप पहल गर्ने छ । एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंकद्वारा स्थापित कम्पनी हो जसले गर्दा यसमा ग्रमीण क्षेत्रको पहुँच देखि लिएर वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् । तसर्थ यस कम्पनीले देशका कुनाकाप्चासम्म पनि मोबाईलको माध्यमबाट वित्तिय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसाथ गर्ने छ । हाल प्रारम्भिक टेस्टिङ्गको चरणमा रहेको एनडिपिसिको मोबाईल वालेट सञ्चालनमा आए पश्चात् अन्लाईन र अफ्लाईन दुबै अवस्थामा तथा फिचर फोन प्रयोगकर्ताहरुले समेत उक्त मोबाईल वालेट प्रयोग गर्न मिल्ने छ । एनडिपिसिले हालै नेपाल राष्ट्र बैंकबाट “नमस्तेपे” सञ्चालन गर्न भुक्तानी प्रणाली सञ्चालकको अनुमति पनि प्राप्त गरिसकेको छ । दूरसञ्चार कंम्पनीले प्रवद्र्धन गरेको एक मात्र भुक्तानी सेवा प्रदायक, एनडिपिसि तथा बैंक वित्तिय संस्थाहरुले प्रवद्र्धन गरेको भुक्तानी प्रणाली सञ्चालक, एनसीएचएलबीचको यस सहकार्यले दूरसञ्चारको पूर्वाधार र ग्राहक तथा डिजिटल भुक्तानीको पूर्वाधार-बैंक वित्तिय संस्थाका ग्राहकहरुलाई जोड्ने अपेक्षा गरिएकोले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रूपमा लिइएको छ । यसले नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकको डिजिटल भुक्तानीको पहलहरुलाई थप टेवा पुर्याउने विश्वास गरिएको छ ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई अनलाइनबाटै किन्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ । हाल जारी भएको निषेधाज्ञाको समयमा लगानीकर्ताले सहजै खरिद गर्न सकुन् भनेर क्यापिटलले उक्त व्यवस्था मिलाएको हो । अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै याे लिंकमा क्लिक गरि युनिट प्रचेज भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ । हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एनआईसी एशिया बैंकको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ ।