साल्ट ट्रेडिङकाे अध्यक्षमा प्रदिपलाल श्रेष्ठ
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको आइतबार साँझ बसेको संचालक समितिको बैठकले श्रेष्टलाई अध्यक्षमा नियुक्त गरेको हो । काठमाडौंमा जन्मिएका श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवम् साल्ट ट्रेडिङ समुहका प्रवर्तक स्वर्गिय इश्वरलाल श्रेष्ठ तथा पद्मावती श्रेष्ठका जेष्ठ सुपुत्र हुन् ।
नबिल बैंकको डीजीएम बने गणेश अवस्थी
काठमाडौं । नबिल बैंकका गणेश प्रसाद अवस्थी नायव महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीजीएममा नियुक्त गरेको बैंकले जनाएको छ । यसअघि बैंकको प्रमुख व्यापार अधिकृत अर्थात् सहायक महाप्रबन्धक रहेका अवस्थी डीजीएममा नियुक्त भएका हुन् । विभिन्न वाणिज्य बैंकमा २ दशक बढी काम गरेको अनुभव सँगालेका अवस्थी विगत ३ वर्षदेखि सहायक महाप्रबन्धक पदमा कार्यरत थिए । क्रेडिट तथा निक्षेप परिचालनमा दख्खल अवस्थीले सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन् । कुमारी बैंकको शाखा प्रमुख भएर काम गरेका उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइमएई बैंकमा १३ वर्ष बढी काम गरेपश्चात् नबिल बैंक प्रवेश गरेका हुन् । विभिन्न बैंकिङ्ग फोरमहरुमा सहभागी अवस्थी क्रेडिट व्यवस्थापन, व्यवसायीक क्षमता र ग्राहक सेवामा बढी केन्द्रित छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले हार्वड विजनेश स्कुलबाट डिस्रप्टिभ स्ट्राटिजी विषय समेत अध्ययन गरेका छन् ।
राष्ट्रिय बीमा संस्थानले माग्यो कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । राष्ट्रिय बीमा संस्थानमा रोजगारीको अवसर खुलाएकाे छ । संस्थानले सहायक व्यवस्थापकमा २ जना, र सहायकमा दुईजना कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानून मध्ये कुनै एक विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले सोही सुचनामा मार्फत जनाएको छ । योग्यता पुगेका इच्छुक आवेदकले वैशाख २३ गतेसम्म आवेदन दिन सक्ने संस्थानले जनाएको छ । यस्तै, दोब्बर दस्तुर तिरी पहिलो म्याद समाप्त भएको मितिले ७ दिन अर्थात वैशाख ३० गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्ता फाराम भने संस्थानको वेवसाइटबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएकाे छ ।