लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष मिन बहादुर बोहराले गर्ने भएका छन् । यसअघि संघको अध्यक्ष रहेका प्रकाशराज शर्माले लक्ष्मी लघुवित्तको सीईओबाट अवकाश पाएपछि उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने भएका हुन् । संघको विधान अनुसार अध्यक्ष पद रिक्त रहेको अवस्थामा उपाध्यक्षले निजको कार्य गर्ने व्यवस्था छ । सोही बमोजिम लघुवित्त बैंकर्स संघको अबको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने छन् । सीईओको कार्यकाल सकिएपछि शर्माको अध्यक्ष पद पनि स्वतः समाप्त भएको थियो । संघको विधान अनुसार अध्यक्षको अनुपस्थितमा उपाध्यक्षले स्वतः नेतृत्व गर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम धौलागिरी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने छन् । सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा सहायक स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका बोहरासँग विभिन्न लघुवित्त तथा विकास बैंकको सीईओ बनेर भूमिका निर्वाह गरेको अनुभव छ । साविकको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रमुख पदमा रहेर उनले काम गरेका थिए । बोहराले साविक नेपाल एग्रो लघुवित्त, कालिका लघुवित्त र धौलागिरी लघुवित्तको सीईओको भूमिका निर्वाह गरिसकेका छन् । एक वर्षमा तीन वटा लघुवित्तको सीईओ बन्ने अवसर बोहराले प्राप्त गरेका थिए । एक दर्जन संस्थाको मर्जरमा उनले भूमिका समेत निर्वाह गरेका छन् ।

एलआईसी नेपालको सीईओमा प्रणय कुमार नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रणय कुमार नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रणय कुमारलाई सीईओमा नियुक्त गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम बीमा प्राधिकरणले उनलाई सीईओ बन्न बैशाख ६ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । प्रणय कुमारलाई आगामी तीन वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएको छ । उनी एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) पदमा कार्यरत थिए । यसअघि कम्पनीको सीईओमा लक्ष्मी प्रसाद दास कार्यरत थिए । उनको कार्यकाल गत माघमा सकिएको भएपनि ६ महिनाको लागि म्याद थप गरेको थियो । उनको ६ महिनाको अवधि नसकिँदै प्रणय कुमारलाई नयाँ सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकालाई महानगरले नगर प्रहरी बनाउने, आवेदन आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी भर्ना गर्दा नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकालाई प्राथमकिता दिने भएको छ । महानगरपालिकाले नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकाले आवेदन दिएमा नगर प्रहरीमा भर्ना गर्ने बताएको हो । महानगरपालिकाले १ सय जना नगर प्रहरी जवान भर्ना गर्न गत बैशाख १० गते सूचना प्रकाशन गरेकोमा ३० जना उम्मेदवारलाई करार सम्झौता गरी काममा लगाइने र बाँकी रहेकोमा ७० जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैकल्पिक सूचीमा रहेकालाई भर्ना गर्ने भएको हो । महानगरले नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेका खुलातर्फ २४ जना, महिलातर्फ १५ जना, आदिवासी तथा जनजातितर्फ १२ जना, मधेशीतर्फ १ जना, दलिततर्फ ३ जना र अल्पसङ्ख्यकतर्फ १ जनालाई नगर प्रहरीमा नियुक्त गर्ने भएको हो । यस्तै, सशस्त्र प्रहरी तर्फको खुलातर्फको बैकल्पिक सूचीमा परेका १४ जनालाई पनि नगर प्रहरीमा भर्ना गर्ने भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान भर्नामा वैकल्पिक सूचीमा परेकाले १५ दिनभित्र निवेदन दिएमा यसअघि नियुक्ति दिई सकेकालाई कटाई करारमा नियुक्ति गरिने बताएको छ । इच्छुकले सूचीमा उल्लेखित दर्ता नम्बर खुलेको निवेदन र नागरिकताको प्रमाण पत्र पेश गर्नुपर्नेछ ।