कृषि विकास बैंकका सीईओ गुरुङले कार्यभार सम्हाले
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । उनले सोमबार कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् । गत शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको थियो । सीईओ छनोट समितिले शनिबार तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको थियो । सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । उनीसँग विदेशी बैंकको सीईओ भएर काम गरेको अनुभव पनि छ ।
सामुदायिक लघुवित्तले माग्यो कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिन प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा मिश्र नियुक्त
काठमाडौं । कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक अध्यक्षको रुपमा नियुक्त गरेको हो । बैंकमा अध्यक्षको अनुपस्थितिमा एक जना कार्यवाहक बन्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बैंक सञ्चालक समितिको बैठकले सहसचिव मिश्रलाई कार्यवाहक अध्यक्षका रुपमा नियुक्त गरेको हो । यसअघि सरकारको तर्फबाट रमेश दुवाडी अध्यक्ष थिए । उनको शैक्षिक योग्यता र कार्यानुभवमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए ।