नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल
काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त भएकी छिन् । मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक बन्सललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । बैंकको संस्थापक सेयरधनी स्टेट बैंक अफ इण्डिया (एस.बी.आई.) ले बन्सललाई मनोनित गराएर पठाएको हो । यसअघि उक्त पदमा सोही बैंकको तर्फबाट राजिब अरोराले प्रतिनिधित्व गर्दै आएका थिए ।
एनबिएको सदस्यमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, दुई जना दोहोरिए
काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को कार्यकारी सदस्यमा तीन जना नियुक्त भएका छन् । नेपाल बैंकर्स संघको सोमबार सम्पन्न भएको वार्षिक साधारण सभाले तीन जनालाई कार्यकारी सदस्यमा नियुक्त गरेको जानकारी दिएको हो । एनबिएको कार्यकारी सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ नियुक्त भएका छन् । यसअघि मेगा बैंककी पूर्व सीईओ अनुपमा खुञ्जेलीले बैंकबाट अवकाश पाएपछि संघको पद रिक्त रहेको थियो । सोही पदमा एभरेष्ट बैंकका सीईओ खालिङलाई नियुक्त गरिएको बैंकर्स संघले जनाएको हो । खालिङ यसअघि पनि संघको कार्यकारी सदस्य थिए । यस्तै, संघको कार्यकारी सदस्यमा दुई जना दोहोरिएका छन् । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकुमार दे संघको कार्यकारी सदस्यमा दोहोरिएका हुन् । संघको विधान अनुसार एक कार्यकाल दोहोर्याउन पाउने व्यवस्था अनुसार दुवै जनालाई दोहोर्याएको हो । संघको अध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय, उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी रहेका छन् । बैंकर्स संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने र सनराइज बैंकका सीईओ सुमन शर्मा छन् । यस्तै, नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना निवर्तमान अध्यक्ष हुन् भने हिमालयन बैंकका सीईओ अशोक राणा सल्लाहकार हुन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त भएका छन् । अग्रवाल सर्वसाधारण समूह लगानीकर्ताहरुबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकमा २९ प्रतिशत लगानी रहेको नेपाली सेयरधनीहरुको प्रतिनिधित्व गर्दै उनी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । यसअघि सर्वसाधारणबाट प्रतिनिधित्व गरेका सञ्चालक भरत कुँवरको कार्यकाल आइतबार सकिएको छ । कुँवरको कार्यकाल सकिएपछि अग्रवाललाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको हो । आइतबार सम्पन्न भएको बैंकको ३६ औं वार्षिक साधारण सभाले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी आगामी ४ वर्षसम्मका लागि बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।