दमकका लघुउद्यमीले पाए ५८ वटा मेसिन
झापा । दमक नगरपालिकाले नगरभित्रका विपन्न समुदायका उद्यमीलाई मेसिन हस्तान्तरण गरको छ । आइतबार एक कार्यक्रममा दमक वडा नं २, ४, ७ र १० का लघुउद्यमीलाई ५८ वटा मेसिन वितरण गरिएको हो । नगरपालिकाले धिमाल जातिको पेटानी बुन्ने मेसिन, लुगा तथा जुत्ता सिलाउने मेसिन, केक बनाउने मेसिन, बङ्गुरको दाना बनाउने मेसिन वितरण गरेको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई र सामाजिक विकास समिति सभापति शारदा सापकोटाले ती वितरण गरेका थिए । नगर प्रमुख थापाले दमकमा उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले सहयोग पुर्याउने बताए । दमक नगरपालिकाले दुईदेखि तीन महिना तालिम लिएकालाई सङ्घीय सरकारअन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा मेसिन वितरण गरेको हो । रासस
सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यभार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । सीईओमा पुनः नियुक्त श्रेष्ठले भदौ १९ गतेबाट थप ४ वर्षको कार्यभार सम्हालेका हुन् । उनलाई भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । साथै, बैंकले सांग्रिला कस्टुमर केयर शुभारम्भ गरेको जानकारी गराएको छ । बैंकले हाल ११२ शाखा कार्यालयहरु र ३१ एटीएम मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्षमा पुनः दीपक कुँवर
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन् । ग्राण्डी अस्पतालको १० औं साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । इञ्जिनियर कुँवर स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष हुन् । यस्तै ग्राण्डीको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर विजयराज भण्डारी, सुनिलराम वैद्य, मीरा अधिकारी, पङ्कज बास्कोटा र फुर्पा दोर्जे लामा निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा टोखा नगरपालिका वडा नं ८ धापासीमा स्थापना भएको ग्राण्डीले दुई सय नौ शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अठ्ठाइस रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।