बेरोजगार अन्त्य गर्ने कार्यमा वर्तमान सरकार केन्द्रीत छ मन्त्री कार्की
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घरघरमा रोजगार सृजना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा शनिबार नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर रोजगारी सृजना गर्नमा केन्द्रित भएको बताए। देशमै रोजगारी नहुँदा युवा खाडी मुलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसको अन्त्यका लागि सरकार विभिन्न किसिमको काम गरिरहेको बताए । स्वदेशमै रोजगारीको सृजना नहुँदा युवायुवती विदेश जान बाध्य भएको उनको भनाइ थियो । मुलुकलाई विकसित गर्न सबै मिलेर देशबाट बेरोजगारी र गरिबी अन्त्य गर्न आवश्यक भएको मन्त्री कार्कीले बताए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल तथा सरोकारवालाको सभागिता थियो । यसैबीच मन्त्री कार्कीले आजै बाढीपीडित क्षेत्रको निरीक्षण गरेका छन् । केही दिनअगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराहक्षेत्र नगरपालिका–६ र ८ मा बाढीबाट प्रभावित क्षेत्रको उनले निरीक्षण गरेका हुन्। उक्त क्षेत्रलाई मन्त्रिपरिषद् बैठकले सङ्कटग्रस्त क्षेत्रका रुपमा घोषणा गरिसकेको जानकारी दिनुहुँदै मन्त्री कार्कीले आवश्यक राहतका लागि काम भइरहेको बताए ।
नेपाल पावर एक्सचेञ्जको अध्यक्ष बने आचार्य, प्राधिकरणको एकाधिकार तोड्ने प्रतिबद्धता
काठमाडौं । नेपाल पावर एक्सचेञ्ज (नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । नेपेक्सको शुक्रबार बसेको बैठकले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । बैठकले म्यानेजिङ डाइरेक्टरमा आसिश गर्ग, सञ्चालकहरुमा शैलेन्द्र गुरागाईं, उत्तर कुमार श्रेष्ठ, उत्तमकुमार लामा मोहन डाँगी र भरत खत्रीलाई चयन गरेकाे छ । यसअघि नेपेक्सको साधारणसभा भएको थियो । उक्त साधारणसभाले सञ्चालक मात्रै छनोट गरेको थियो । ती सञ्चालकहरुबाट अहिले आचार्यलाई अध्यक्ष बनाएको हो । निजी क्षेत्रबाट स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेड विद्युत व्यापारमा निजी क्षेत्रको पनि सहभागिता खोज्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो । नवनिर्वाचित अध्यक्ष आचार्यले अब विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता हुने हिसाबले काम गर्ने बताए । ‘विद्युत व्यापारमा अहिले नेपाल विद्युत प्राधिकरणको एकाधिकार छ, विद्युत व्यापारका लागि सरकारसँग माग पनि गरिसकेका छौं, अब अनुमति आउने वित्तिकै काम सुरु गर्छौं, प्राधिकरणको एकाधिकार तोड्नु पर्छ भन्ने हाम्रो उद्धेश्य हो,’ उनले विकासन्युजसँग भने ।
नेपाल म्यानमार चेम्बरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अग्रवाल
काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार सम्पन्न संघको १२ औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो भने संघको वरिष्ठ उपाध्यक्षमा रतनलाल केडिया र उपाध्यक्षमा मोहनवीर थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महासचिवमा सुभाषकाजी श्रेष्ठ, सचिवमा अमृत खड्का तथा कोषाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । संघको सदस्यहरुमा पवनकुमार अग्रवाल, मोहनलाल दारुका, रामचन्द्र खेतान, राज लामा, प्रदीपकुमार रुंगटा, सृजना सुवेदी र मुकुन्दप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रममा नेपालका लागि म्यानमारका राजदूत यु सेन ओले म्यानमारको यांगुनबाट नेपाल उडान गर्ने तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए । साधारणसभालाई सम्बोधन गर्दै उनले याङ्गुनदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म उडान सञ्चालनका लागि म्यानमार सरकारलाई प्रस्ताव पठाइएको बताए । म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिशचन्द्र घिमिरेले दुई देशबीच सांस्कृतिक, व्यापारिक र भाषिक सम्बन्ध विकास गर्ने प्रचुर सम्भावना रहेको बताए । उनले म्यानमारमा रहेका नेपाली दोस्रो ठूलो डायस्पोरा भएको र नेपालको सन्दर्भमा सफ्ट पावरको रुपमा काम गर्न सक्ने बताए । निर्यातका लागि जडिबुटी र आयुर्वेदिक औषधि प्रमुख उत्पादन हुन सक्ने उनको भनाइ छ । संघले व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न दुवै देशका सरकारलाई सीधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरेको छ । ‘हामी नेपाल र म्यानमारको व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ,’ अग्रवालले भने, ‘दुई देशबीच सिधा हवाई सम्पर्क हुनुपर्छ ।’