वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो । कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् । श्रम मन्त्रालयले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शीरूपमा सेवाप्रवाह गर्न अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीतिअनुसार अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो–छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशनानुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालको भनाइ छ । कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईले लिए शपथ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन् । समितिका अध्यक्ष सिलवालले इन्स्योरेन्सका अध्यक्ष संघईलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।
प्राइम लाइफमा निर्मल दाहालको प्रवेश, असारपछि सीईओ बन्दै
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा सात वर्ष काम गरेका दाहालले दुई दिन अघि मात्र सक्षम छोडेको जनाएका थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए । प्राइम लाइफ इन्स्योरेन्सले दाहाललाई तीन महिनापछि सीईओ बनाउने गरी सिनियर डेपुटी सीइओमा नियुक्त गरिएको एक सञ्चालकले विकासन्युजलाई जानकारी दिए । उक्त कम्पनीका वर्तमान सीईओ मनोज कुमार भट्टराईको कार्यकाल आगामी असारमा सकिदैछ । भट्टराई २०७४ असारदेखि कम्पनीको सीईओ पदमा कार्यरत छन् ।