स्थानीय निर्वाचनलाई एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो, यस्तो छ सेवासुविधा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले मंगलबार सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ का लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकबाट स्वयं उपस्थित भई दरखास्त आह्वान गरिन्छ’, सूचनामा उल्लेख छ । म्यादी प्रहरीमा एक लाख भर्ना गरिने बताइएको छ । सार्वजनिक बिदा बाहेक यही चैत ६ देखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने जनाइएको छ । महानगरीय प्रहरी परिसर (काठमाडौँ, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने छ । दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ । मुख्यगरी सुरक्षा निकायमा गत साउनदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई प्राथमिकता दिइने भएको छ । दरखास्तका लागि यही चैत १३ गते सम्पर्क गर्न भनिएको छ भने चैत १५ गतेदेखि छनोट प्रक्रिया सुरु गरिने सूचनामा उल्लेख छ । अन्तिम नतिजा भने यही २२ गते सार्वजनिक हुनेछ । चैत २८ गते प्रशिक्षण दिइने छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार उपलब्ध गराइने छ । निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरुप प्रतिम्यादी प्रहरी (एक पटकका लागि) एक हजार दिइनेछ । बीमा लगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने सूचनामा उल्लेख छ ।

प्रभु लाइफबाट बाहिरिए पौडेल, प्रसाई सीईओ बन्दै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल पुग्न १ वर्षभन्दा बढी समय बाँकी छदै पौडेलले पदबाट राजीनामा दिएका हुन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका पौडेललाई प्रभु लाइफले २०७६ साल साउन १ गतेदेखि ४ वर्षको लागि सीईओमा नियुक्ति दिएको थियो । पौडेलले दिएको राजनीतिमा संचालक समितिले फागुन १८ गते स्वीकृत गरिसकेको छ । उनको राजीनामा चैतदेखि लागू हुनेछ । कम्पनी संचालक समितिले चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईलाई कन्सल्ट्याण्टको रुपमा भित्र्याएको छ । प्रसाईलाई सीईओ बनाउने गरी कन्सल्ट्याण्ट बनाएर भित्र्याएको महसुस गरेर पौडेलले राजीनामा दिएका हुन् । प्रसाईलाई चैत ७ गतेदेखि लागू हुने गरी कन्सल्ट्याण्टका रुपमा कम्पनीमा नियुक्ति दिइएको छ । प्रसाई नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट बीचमै राजीनामा दिएर बसेका सीए हुन् । उनले नेपाल लाइफ छोडेको ६ महिना आगामी बैशाख २२ गते पूरा हुँदैछ । कुनै कम्पनीको प्रमुख कार्यकारी अधिकृतले जिम्मेवारीबाट अलग भएको ६ महिना पछि मात्रै अर्काे कम्पनीको सोही पदमा जान पाउने नीतिगत व्यवस्था बीमा समितिले गरेको छ । समितिको सो व्यवस्थाको कारण प्रसाईलाई तत्काल सीईओ बनाएर प्रभु लाइफमा भित्र्याउन नसक्ने अवस्था सिर्जना भएपछि कन्सल्ट्याण्टको रुपमा भित्र्याइएको र कुलिङ पिरियड सकिएपछि सीईओ बनाइने स्रोतले जानकारी दियो ।

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ । भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । आवेदन फाराम eoers.epsnepal.gov.np मार्फत भर्न सकिनेछ । परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ । आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ । कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ ।