सीबीआईएल क्यापिटलको सञ्चालकमा खड्का नियुक्त

काठमाडौं । सीबीआईएल क्यापिटलको सञ्चालकमा सुबास खड्का नियुक्त भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको सञ्चालकमा नियुक्त भएका हुन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको डिसीईओमा गोरख राणा, बैंकिङ्ग क्षेत्रमा २७ वर्ष बढीको अनुभव

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा गोरख राणा नियुक्त भएका छन् । बैंकले नयाँ वर्ष २०२२ अर्थात पुस १७ गतेदेखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो । नवनियुक्त डीसीईओ राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ । उनले धेरै उद्योग र नियामक फोरमहरूमा मानक चार्टर्डको प्रतिनिधित्व गर्दै आएका छन् । सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङमा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा सामेल भएका उनी सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरे । जहाँ उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादिसम्मका विभिन्न पदमा काम गरेका छन् । र, अन्तिम नियुक्ति ग्लोबल बैंकिङको प्रमुखको रूपमा भएको छ ।

नेपाल बैंकको सञ्चालकमा कर्मचारी सञ्चय कोषका श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका छन् । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भई आएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । यसअघि बैंकको सञ्चालकमा कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए । उनको अवकाश भएसँगै बैंकले सोही स्थानमा कोषका रोचन श्रेष्ठलाई नियुक्त गरेको हो ।