राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले पुस १ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । योसँगै भट्टले दोश्रो पटक बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा. भट्ट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए ।
नेप्सेको सीईओ छान्न कार्यविधि बन्यो, संयोजक विदामा
काठमाडौं । पुँजी बजारको ‘फ्रण्ट लाइन रेगुलेटर’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत छनौट सम्बन्धी कार्यविधि तयार पारेको छ । बुक विल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयर अनुचित रुपमा आफन्तको नाममा खरिद गरेको आरोप लागेपछि नेप्सेका तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले गत भदौ ८ गते राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको ४ महिना वित्न लागेपनि सरकारले अझैसम्म नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न सकेको छैन । तर, अर्थमन्त्रालयले कात्तिक १३ गते सार्वजनिक सुचना प्रकाशित गरी सीईओ नियुक्ति प्रक्रिया भने अघि बढाइसकेको छ । सीईओ छनोटका लागि कार्यविधि तयार भइसकेको र छिट्टै नै नियुक्ति गरिसक्ने गरी प्रक्रिया अघि बढाइएको अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । ‘नेप्सेको सीईओ छनोटका लागि कार्यविधि तयार भइसकेको छ, अब चाढै नै नियुक्ति हुन्छ,’ प्रवक्ता शाक्यले विकासन्युजसँग भने । संयोजक विदामा अर्थमन्त्रालयले नेप्सेको सीईओ छनोट गर्नको लागि कार्यविधि बनाइसके पनि सीईओ छनोट समितिको संयोजक नै विदामा बसेका छन् । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख रमेश कुमार केसी सीईओ छनोट समितिको संयोजक छन् । तर, केसी केही दिनदेखि एक साता लामो विदामा बसेका अर्थमन्त्रालय स्रोतले जानकारी दियो । उनी व्यक्तिगत कामको कारण विदामा बसेका बताइएको छ । केसी फर्केर आएपछि मात्रै नेप्सेको सीईओ छनोट कार्य सम्पन्न हुनेछ । को–को छन् प्रतिस्पर्धी ? सरकारले आवेदन माग गरेपछि नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि ११ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार नेप्सेकै कामु प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँल, नेप्सेकी कामु प्रबन्धक प्रबिन पन्दाक, हाल आरबिबि मर्चेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत बद्री प्रसाद प्याकुरेल र धितोपत्र बोर्डका पूर्वकर्मचारी जीवन अमगाईले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार आवेदन दिने प्रतिस्पर्धीहरुमा आरबिबि मर्चेण्ट बैंकिङका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्दप्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरे छन् । सवोनको अध्यक्ष कहिले ? यस्तै, धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पनि खाली रहेकोले सो पदको नियुक्ति प्रक्रिया पनि अघि बढेको छ । सेबोनका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानाले पनि आफन्तको नाममा सर्वाेत्तम सिमेन्टको सेयर खरिद गरेको पाइएपछि सरकारले उनलाई गत भदौ १६ गते निलम्बन गरी छानविन गरेर असोज १९ गते पदबाट हटाएको थियो । सेबोनमा अध्यक्ष पद खाली भएपछि सरकारले गत कात्तिक ११ गते सार्वजनिक सुचना प्रकाशित गरी सेबोन अध्यक्षका लागि आवेदन मागेको थियो । सरकारले आवेदन मागेपछि सेबोन अध्यक्ष बन्नको लागि १२ जनाले आदेन दिएका थिए । अर्थमन्त्रालयका अनुसार उक्त पदका लागि आवेदन दिनेमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जीवी चापागाईं, कृष्णप्रसाद आचार्य, जीवन अमगाई, डा. गोपाल भट्ट, डा केशवप्रसाद श्रेष्ठ, रमेश हमाल, अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । आवेदन दिनेमध्ये गिरी बोर्डका कार्यकारी निर्देशक हुन् । डा. अधिकारी पनि बोर्डकै नायब कार्यकारी निर्देशक हुन् । थपलिया नेप्सेका पूर्व महाप्रबन्धक हुन् भने चापागाईं बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका पूर्व अध्यक्ष हुन् । यस्तै, आचार्य नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्व अध्यक्ष हुन् । डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । अन्य व्यक्तिहरु पनि पूर्व बैंकर तथा धितोपत्र बजार सम्बन्धी जानकार व्यक्तिहरु हुन् । सेबोन अध्यक्ष छनोटका लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समिति मन्त्रिपरिषदले गठन गर्नुपर्नेमा अर्थमन्त्रालयले गठन गरेपछि विवादमा परेको थियो । यसरी समिति गठन नै विवादमा परेपछि मन्त्रिपरिषदले उपाध्यक्ष डा. पौडेल संयोजक रहेको समितिलाई नै आधिकारिकता दिएको छ । समिति गठन भइसकेकोले सो समितिले सेबोन अध्यक्ष छनोटको कार्य अघि बढाउन थालेको छ । सम्बन्धित समाचार ३५ खर्बभन्दा बढीको बजारप्रति सरकारको बेवास्ता, सेबोन र नेप्से ४ महिनादेखि प्रमुख विहिन
माध्यमिक तहमा १५४८ शिक्षकका लागि दरखास्त आह्वान
काठमाडाैं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । अठार वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ भने लिखित परीक्षा आगामी चैत १५ गतेका लागि निर्धारण गरिएको छ । शिक्षकका लागि आवेदन दिन शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन जततउकस्ररयलष्लिभ।तकअ।नयख।लउ दरखास्त प्रणालीमार्फत आगामी पुस २९ गतेसम्म अनलाइन दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । चिकित्सा शिक्षा आयोगले पनि चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । आज आयोगले एक सूचना जारी गर्दै आगामी पुस १४ देखि २० गतेभित्र योग्यता पुगेका उम्मेदवारलाई अनलाइन आवेदन भर्न आह्वान गर्दै सूचना जारी गरेको हो । आयोगले अनलाइन आवेदन पेस गर्नेबारे आयोगको वेबसाइटमा सूचना राखिएको जानकारी दिएको छ ।