विदेशिने मोह : नक्कली कागजातदेखि झुटाे विवाहसम्म
काठमाडौं । विदेशमा पैसाको रुख हुन्छ भन्ने गलत मानसिकता आम युवा जगतमा व्याप्त छ । यहि मानसिकताले वर्षेनी लाखौं युवाहरु विदेशिने क्रम बढ्दाे छ । कतिले विदेशमा गएर कडा मिहेनत गरेर पैसा पनि कमाइ गरेका छन् भने कतिपयले काम नपाएर भौतारिएका उदाहरण प्रशस्त छन् । अझ कतिपय त काम गर्न नसकेर फर्किएका छन् । कति लाशकाे रुपमा बाकसमा प्याक भएर समेत आउने गरेका छन् । यस्ता उदाहरण हामी माझ प्रशस्त भएपनि विदेशिने युवाहरुको संख्यामा भने कमी आउन सकेको छैन । विदेशमा मात्र होइन, विदेश जान्छु भनेर विदेश जाने प्रक्रिया गरिरहेका युवाहरु स्वदेशमै पनि ठगिने परिपाटी पछिल्लो समय झन बढ्दै गएको छ । दोलखा घर भएका ३६ वर्षिय राम शर्मा (नाम परिवर्तन) ले दुई वर्ष अगाडी क्यानडा जाने योजना बनाए । वैदेशिक रोजगारको रुपमा तीन वर्ष कतारमा बिताइसकेका उनले फेरी पैसा कमाउन क्यानडा जाने निधो गरे । राम्रो देश जान पाइने भएपछि उनले पैसाको कुनै प्रवाह नगरी साथीको सल्लाहमै एक जना एजेन्टलाई २१ लाख रुपैयाँ बुझाए । २१ लाख रुपैयाँ बुझाएको हालसम्म दुई वर्ष बितिसक्दा पनि न उनको विदेश जाने कुरा टुङ्गो लागेको छ नत उनले पैसा दिएका ऐजेन्ट सम्पर्कमा छन् । अहिले उनले पैसा दिएका एजेन्ट भारतमा बस्दै आएको उनले बिकासन्युजलाई बताए । राम मात्र होइन उनी लहैलहैमा लागेका उनका साथीको पैसा पनि लिएर ति एजेन्ट फरार छन् । यस्तै ताप्लेजुङ्ग घर भएका २६ वर्षिय कान्छा तामाङ (नाम परिवर्तन) को घटना पनि रामको भन्दा फरक छैन । वैदेशिक रोजगारीकै लागि तामाङले पनि एजेन्टलाई २ लाख दश हजार रुपैयाँ दिए । तर पैसा लिएका एजेन्ट पनि सम्पर्कमा छैनन् । उल्टै उनको पासपोर्ट पनि ति एजेन्टले गायब पारे । यी त केही प्रतिनिधि घटनाका पात्रहरु मात्र हुन् । यस्तै एजेन्टबाट ठगिएका, विदेशमा गएर काम नपाएका लगायतका समस्याहरु लिएर दैनिक सयौं मानिसहरु वैदेशिक रोजगार विभागमा धाउने गरेका छन् । पछिल्लो समय अष्ट्रेलिया, युरोप, अमेरिका जस्ता सुविधा सम्पन्न देशमा जानेको लहर चलेसँगै विभागमा ठगीका घटना आउने क्रम पनि बढ्दै गएको हो । सुविधा सम्पन्न देशमा जानकै लागि नक्कली विवाह मात्र होइन घरायसी लेनदेन कारोबारमा पनि वैदेशिक रोजगारीको कागज गर्ने प्रवृति भयावह रहेको विभागले बताएको छ । हाल विभागमा विभिन्न देशमा पठाउने भनेर लाखौं रकम ठगेका मुद्दाहरु पेश भएका छन् । कानुनी प्रक्रिया भन्दा पनि गैर कानुनी माध्यम द्वारारा विदेश जानेहरुका मुद्दाहरु बढी विभागमा आउने गरेका विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले बताए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार १ सय ७७ वटा व्यक्तिगत उजुरी विभागमा दर्ता भएका छन् । भूषालले दाबी रकम बराबर चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १३ करोड ६६ लाख ६९ हजार ११६ रुपैयाँ जम्मा भएको बताए । यस्तै चालु आर्थिक वर्षको हालसम्म २ सय १५ वटा उजुरी विभागमा आएको भूषालको भनाइ छ । ती मध्ये अदालतमा ९८ वटा मुद्दा दायर भएका छन् । विगोमा दाबी रकम १० करोड ९८ लाख ६१ हजार जम्मा भएको छ । यस्तै गतवर्ष मात्रै विभागमा ८ सय ५५ वटा उजुरीमा २०९ वटा रहेका थिए । त्यसबाट ५६ करोड ११ लाख २९ हजार दावी रकम जम्मा भएको थियो । वैदेशिक रोजगारीका रुपमा कमाउन विदेश जानै परेपनि कानुनी रुपमा कागजात मिलाएर काम गर्नु पर्ने जानकारहरु बताउँछन् । वैदेशिक रोजगारका लागि अवैध रुपमा विदेश जाने र समस्यामा पर्दा विभाग धाउने परिपाटी पछिल्लो समय बढ्दै गएको हो ।
महिला उद्यमी महासंघद्वारा सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी गोष्ठी सम्पन्न
काठमाडौं । महिला उद्यमी महासंघ नेपालले आइतबार महिला उद्यमशीलता विकाशकोष तथा सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधिकाे गोष्ठी आयोजना गरेको छ । उक्त कार्यक्रममा उद्योग विभाग, सामाजिक विकास विभाग का.म.न.पा, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय बैंक, राष्ट्रिय वणिज्य बैंक, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ, तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महिला उद्यमी महासंघ नेपाल” विभिन्न जिल्लाका महिला उद्यमी संघहरुको छाता संगठन हो । जसको उद्देश्य एक गैर सरकारी, गैर राजनैतिक तथा मुनाफा रहित छ । महासंघले राष्ट्रको आर्थिक विकासको लागि महिला उद्यमीहरुको संगठित प्रयासलाई प्रतिनिधित्व गर्दै महिला उद्यमी लक्षित प्रभावकारी तथा मिल्दो आर्थिक नीति नियम निर्माण गर्न विभिन्न सरकारी निकायहरुसँग महिला उद्यमीहरुको समस्यालाई वकालत गर्दै आईरहेको महासंघकी अध्यक्ष शारदा रिजालले बताइन् । महासंघको लक्ष्य सात प्रदेशका प्रतिनिधिमुलक ९ जिल्लाहरुमा सम्पन्न एफजिडी तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरी कार्यक्रमबाट आएका सारसंक्षेप संकलन गरी नीतिगत विषयहरुमा सुझाव प्रतिवेदन तयार पार्ने कुरालाई सो कार्यक्रममार्फत प्रस्तुत गरेको महिला उद्यमी महासंघ नेपालकी महासचिव दर्शना श्रेष्ठले बताइन् । कार्यक्रममा घरेलु तथा साना उद्योग विभाग, निर्देशक, विनोद कुमार खड्का तथा प्रदेश ३, घरेलु तथा साना उद्योग कार्यालय, प्रमुख राम चन्द« अधिकारीद्वारा कार्यान्वयनमा देखिएको चुनौतीहरु, महिला उद्यमीहरुमा देखिने विचौलियाका प्रभाव, नयाँ संरचना तथा कर्मचारी व्यवस्थापनले ल्याएको चुनौती तथा संघ संस्थासँगको सहकार्यजस्ता विषयमा चर्चा गरेका थिए ।
घरेलु तथा साना उद्योगको प्रबर्द्धनमा सरकारको प्राथमिकता- उद्योगमन्त्री भट्ट
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धन र विकासमा सरकारको प्राथमिकता दृढ भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले भने– ‘लघु, घरेलु तथा साना उद्योगहरुसँग सिँगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउने कुरामा म दृढ छु ।’ उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले भने – ‘तपाईहरुको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपाइहरुको सफलता पनि जोडिएको छ ।’ समस्याका साथै समाधानका उपाय पनि ल्याउन व्यवसायीलाई आग्रह गर्दै उनले भने –‘साना उद्योगहरु कसरी बाँचेका छन् । समग्रमा साना व्यवसायीका समस्या के के छन पहिचान गरेर वैज्ञानिक र वस्तुवादी भएर ल्याउनुस । अनि छलफल गरौं निकास ननिस्कने कुरै छैन ।’ महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए । अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन । यो नेपालको लागि ठूलो चुनौतीको विषय बनेको बताउँदै भने- यसका पछाडि दुई तीनवटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौं ती उद्योगहरु व्यवस्थित छैनन् । उद्योग ग्राममा नचलाइएकोले छरपस्ट भईरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको शिकार बनिरहेका छन् । त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन् । यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्राम प्रचलित छ । साना व्यवसायीहरुको उद्योगग्राम चाहियो भन्ने माग बमोजिम उद्योगग्राम अहिलेको सरकारले पहिलो क्याबिनेटबाटै पालिकामा एउटा उद्योगग्राम बनाउने भनेर गरेको छ यसलाई आत्मसात गरेर अगाडि जानुपर्छ भन्ने व्यवसायीको आग्रह रहेको अध्यक्ष गिरीले बताए ।