आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल चयन
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल सर्वसम्मतिले चयन भएका छन् । कम्पनीको माघ २ गते बसेको बैठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरिएको जनाएको छ । अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पुर्याउने विश्वास लिएको छ।
नेपाल एसबीआई बैंकको सीईओ बने रामकुमार तिवारी, २६ वर्षको बैंकिङ अनुभव
काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले नेपालको एसबीआई बैंककाे सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल बिहीबारबाट सुरु हुनेछ । यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए । यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए । उनको कार्यकाल बुधबारबाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । उनीसंग २६ वर्षको बैंकिङ अनुभव रहेको छ ।
पौडेल बने ‘वर्ष उत्कृष्ट कर्मचारी’, भारतीलाई टिम च्वाइस अवार्ड
काठमाडौं । विकास मिडिया प्रालिद्वारा सञ्चालित देशविकास आर्थिक साप्ताहिकको १९औं वार्षिकोत्सवमा महेशकुमार पौडेल ‘इम्प्लोई अफ दि एअर’ अर्थात् वर्षभरिको उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भएका छन् । विगत चार वर्षदेखि विकास मिडिया प्रालिमा कार्यरत पौडेललाई मिडियाले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो । उनले मल्टिमिडिया सम्हाल्दै आएका छन् । उनी मेडल र १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए । यस्तै, विकास मिडियाले कार्यक्रममा टीम च्वाइस अवार्ड पनि प्रदान गरेको छ । विकास मिडियामा कार्यरत कर्मचारीहरूबीच भोटिङमार्फत् चयन हुने अवार्ड मार्केटिङकी पविता भारतीले प्राप्त गरिन् । कर्मचारीहरूले भारतीलाई बढी मत दिएर पुरस्कृत गराएका हुन् । उनले मेडलसहित नगद १० हजार रुपैयाँ प्राप्त गरिन् । विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेलले कर्मचारीको क्षमता विकास तथा सीप अभिवृद्धिमा संस्थाले कुनै कम्प्रमाइज नगरेर काम गर्ने बताए । उनले विकास मिडियाले विगत १८ वर्षको अवधिदेखि संस्थागत अभ्यास गरेर मिडिया इन्ड्रष्टीका रूपमा एउटा पायोनियर संस्थाको रूपमा स्थापित हुनुमा कर्मचारीको ठूलो भूमिका रहेको बताए । विकास मिडिया प्रा.लि.द्वारा सञ्चालित देशविकास आर्थिक साप्ताहिक १८ वर्ष पुरा गरेर १९ वर्षमा प्रवेश गरेको छ । संस्थाले यो अवसरमा विकास नायकको थिममा म्यागेजिन पनि प्रकाशन गरेको छ ।