गोर्खाज फाइनान्सको सीईओमा अधिकारी

  काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् । पुष १४ गते बसेको कम्पनी सञ्चालक समितिको बेठकले सीईओको पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुष १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको लागि वित्तीय संस्थाको सीईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनीका सचिव दीपक न्यौपानेले जानकारी दिए ।

सीडीएससीको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त

काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छन् । सिडिएसको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । ४ वर्षे कार्यकालका लागि उनलाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ रहेका पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।

मनोज ज्ञवाली नबिल बैंकको सिनियर डीसीईओमा बढुवा

काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रुपमा काम गरिरहेका ज्ञवालीलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजिनामा दिएका उनी नबिल बैंकमा नायव महाप्रबन्धक भएर प्रवेश गरेका थिए । चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्रो अनुभव रहेको छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले मर्चेन्ट बैंकिङ्ग कम्पनीमा  प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् ।  उनले ग्लोवल आईएमई बैंकमा पनि लामो समय काम गरेका थिए । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव रहेको छ । सकारात्मक सोच भएका र प्रष्ट रुपमा विचार राख्न सक्ने ज्ञवाली युवा पुस्तामाझ उत्प्रेरक व्यक्तिको रुपमा पनि परिचित छन् ।