माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिए, २ जना भित्रिए

काठमाडौं । माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिँदा २ जना भित्रिएका छन् । बैंकका संस्थापक सेयरधनी श्रीराम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलले सञ्चालक पदबाट राजीनामा दिएका हुन् । सिग्देलले मंसिर १४ गते सञ्चालक समितिमा राजीनामा दिएका थिए । उनको राजीनामा मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ । यस्तै, मंसिर २० गते नै बसेको सञ्चालक समितिको बैठकले राम जानकीको तर्फबाट मुकुन्द महतलाई नियुक्त गरेको छ । यस्तै, सोही दिनको सञ्चालक समितिले अनिल साहलाई सञ्चालकमा नियुक्त गरेको छ ।

नेपाल एसबिआई बैंकको सीईओमा तिवारी नियुक्त, दीपककुमारको बढुवा

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । भारतीय स्टेट बैंकसँगको सेवा सम्झौता बमोजिम एसबीआईबाट नेपाल एसबिआई बैंकमा खटिई आएका बैंकका प्रबन्ध सञ्चालक तथा सीईओ दीपककुमार देका स्थानमा तिवारीलाई नियुक्त गर्ने निर्णय भएको जनाएको छ । तिवारीले आगामी माघ २ गतेदेखि सीईओको जिम्मेवारी सम्लाल्ने छन् । सीईओ दीपककुमार देलाई भने एसबीआईमा उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका माघ २ गते नेपाल एसबिआई बैंकको कार्यभारबाट मुक्त गर्ने निर्णय भएको छ । रामकुमार तिवारी एसबिआई बैंकका महाप्रबन्धक हुन् । करिब १९ वर्षको बैंकिङ अनुभव भएका तिवारीले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटिबाट बैंकिङ एण्ड फाइनान्समा एमबीए गरेका छन् ।

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १८ गते मंगलबार बैठकले गौतमलाई कम्पनीको सीईओमा नियुक्त गरेको हो । उनको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिन बाँकी रहेको छ । प्राधिकरणबाट स्वीकृति पाएपछि उनले कम्पनीको सीईओको पदभार सम्हाल्नेछन् । यसअघि साबिक एभरेष्ट इस्यारेन्समा सीईओको भूमिका निर्वाह गरिसकेका गौतम साविक एभरेष्ट र साविक हिमालयन इन्स्योरेन्स मर्जरपछि नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)  बनेका थिए । उनले गत २०८० फागुनमा हिमालयन एभरेष्टबाट राजीनामा दिएर बाहिरिएका थिए । साविक एभरेष्ट इन्स्योरेन्स समस्यामा थियो । तर, गौतमको व्यवस्थापकीय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाइमा पुर्‍याएका थिए । नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमसँग हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक र इन्फ्रान्स्ट्रक्चर डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । बैंकिङ र बीमा गरी तीन दशक बढी अनुभवी गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । गत कात्तिक ८ गते श्रवण रावलको निधन भएपछि यूनाइटेड अजोड इन्स्योरेन्समा सीईओ पद रिक्त थियो । रावलको हृदयघातका कारण निधन भएको थियो ।