धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे
काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त भएका छन् । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी प्रवक्तामा घिमिरेलाई नियुक्त गरेका हुन् । धितोपत्र बोर्डमा उनी उपकार्यकारी निर्देशक छन् । यसअघि धितोपत्र बोर्डमा प्रवक्ताको भूमिकामा कार्यकारी निर्देशक डा नवराज अधिकारी थिए । करिब ११ महिनापछि धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको हो । मन्त्रिपरिषदको बैठकले गत मंसिर १० गते श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
सीईडीबी होल्डिङ्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । सीर्डडीबी होल्डिङ्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । कम्पनी सञ्चालक समितिले हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा सीईडीबी होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको १ः०५४५ अनुमातमा अर्थात १ सेयरबराबर नयाँ ०.५४५ कित्ता सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्न लागेको छ । हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव गत असोज २१ गते आयोजित वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको छ ।
आईएमई लाइफ इन्स्योरेन्सको सीईओ बने पवनकुमार खड्का
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्तिको स्वीकृतिका सम्बन्धमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरी कम्पनीका सञ्चालक समितिलाई आवश्यक कार्य गर्न जानकारी गराएको थियो । सीईओ खड्कासँग आईएमई लाइफ पूर्व नेपाल लाइफ, तत्कालीन सुर्या लाइफ, सुर्या र ज्योति लाइफको मर्जरपश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्च व्यवस्थापकीय पदसहित सीईओ र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेतको कार्य अनुभव रहेको छ । उनीसँग बीमा, जलविद्युत तथा सिमेन्ट क्षेत्रको कार्य अनुभव रहेको छ । उनीसँग एसीसीए संयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन विश्वविध्यालयबाट स्नात्तकोत्तरको शैक्षिक योग्यता रहेको छ ।