म्याग्दीमा करिब तीन हजार उद्योग सञ्चालनमा, ३०० जनालाई रोजगारी
म्याग्दी । यस जिल्लामा करिब तीन हजार उद्योग सञ्चालनमा रहेका पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । दशौँ उद्योग दिवस–२०८१ का अवसरमा आज पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख पोषानाथ शर्माले तीन हजार तीन सय ८४ उद्योग दर्ता भएकामा दुई हजार नौ सय १९ वटा सञ्चालनमा रहेका जानकारी गराए । ‘पछिल्लो केही वर्षयता उद्योग ब्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ’, उनले भने, ‘वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज भएका हुन् ।’ आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ वटा खारेज भएका थिए । कार्यालयका अनुसार २०८०/८१ मा ३१ वटा उद्योग र ५३ वटा व्यावसायिक फर्म खारेज भएका हुन् । आर्थिक वर्ष २०७९/८० मा १४ वटा उद्योग र २९ वटा व्यावसायिक फर्म खारेज भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा सात सय ६२, २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । गत वर्ष तीन सय २२ उद्योग र तीन सय ९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगमा तीन सय जनालाई रोजगारी सिर्जना भएको कार्यालय प्रमुख शर्माले बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायी विदेश पलायन हुने र अन्य पेसा रोज्नेक्रम बढेको बताए । उद्योग वाणिज्य सङ्घको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्महरु पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका हुन् । यसैगरी दशौँ उद्योग दिवस–२०८१ का अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी मेनुका सिलाइकटाइ तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका–८ गणेशटोलको वेदना सु–सेन्टरका सुकलाल किसान र बेनी नगरपालिका–७ कुरिलाखर्कको शर्मा कृषि तथा पशपक्षी फार्मका सञ्चालक कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन), जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले उनीहरुलाई दोसल्लो ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । प्रदेशसभा सदस्य जुग्जालीले म्याग्दीमा आवश्यकता र सम्भावनामा आधारित भएर सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक भएको बताए । गण्डकी प्रदेशसभाबाट स्थानीय मदिरासम्बन्धी कानुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउँदै म्याग्दीमा पनि यस किसिमका उद्यम स्थापना गरी मदिरा आयात घटाउन आवश्यक देखिएको विचार व्यक्त गरे । रासस
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ, बैंकिङ क्षेत्रमा १४ वर्षको अनुभव
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले कायस्थलाई मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । करिव १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् । वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक पनि हुन् । डिजिटल बैंकिङ लाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । भौतिक कार्डको आवश्यकता नपर्ने २,५०,००० रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्ड मार्फत ग्राहकहरूले कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्दछन् । साथै बैंकले ग्राहकहरुको स्वास्थ्य र सुविधा लाई मध्यनजर गर्दै नयाँ बचत योजना ‘हेल्थ एण्ड वेल्थ बचत खाता’ को पनि सुरुवात गरेको छ । बचतकर्तालाई प्रतिफलस्वरूप उच्च ब्याजदर साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो । यस योजना अन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एकपटक निःशुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेसन, दुईपटक दाँत र एकपटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउने बैंकले जनाएको छ ।
सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी
काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी नियुक्त भएका छन् । मंसिर ३ गते बसेको बैंक सञ्चालक समितिको बेठकले जिसीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी बैंकका कायम मुकायम नायव प्रबन्धक पनि हुन् । ‘यस विकास बैंकको सञ्चालक समितिको मंसिर ३ गते सम्पन्न ४४१औं बैठकको निर्णय बमोजिम बैंकका कामु नायब प्रबन्धक पुष्कर जिसीलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको छ,’ नेप्सेको सुचनमा उल्लेख छ ।