युवालाई रोजगारी सरकारको प्राथमिकता : मन्त्री जोशी
पोखरा, २८ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग धन्दाको विकास गरी युवालाई रोजगारी प्रदान गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बतएका छन् । पत्रकारसँग आइतबार भएको भेटघाटमा उनले देशमा उद्योग व्यवसायको अभावका कारण रोजगारीको खोजीमा युवा विदेशिनुपरेको बाध्यात्मक अवस्था अन्त्य गर्न उद्योग स्थापना गरेर उनीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्नु आवश्यक रहेको बताएका हुन् । बन्द उद्योग सञ्चालनका लागि सरकारले कदम चालेको चर्चा गर्दै मन्त्री जोशीले साना घरेलु कुटिर उद्योगको विकास गर्दै ठूला उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए । “सरकारले बन्द भएकामध्ये चल्नसक्ने उद्योगलाई चलाउने र नचल्ने उद्योगलाई व्यवस्थापन गर्ने सोच अघि बढाएको छ,” उनले भने,“ उद्योगको विकासका साथै खनिज पदार्थको सम्भाव्यताका लागि सरकारले गृहकार्य गरिरहेको छ ।” हेटौँंडा कपडा उद्योगलाई सञ्चालनमा ल्याएर पहिलो चरणमा नेपाली सेना तथा प्रहरीका लागि कपडा उपलब्ध गराउने लक्ष्य राखिएको बताउँदै उनले बुटवल धागो कारखानालाई नीजी क्षेत्रलाई भाडामा दिनेबारे छलफल भइरहेको उल्लेख गरे । गोरखकाली रबर उद्योगमा मासिक एक करोड रुपैयाँ घाटा भइरहेका कारण त्यसको कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकार गम्भीर बनेको बताए । उनले वीरगन्ज चिनी कारखाना चलाउने सम्बन्धमा पनि गृहकार्य भएको जानकारी दिए ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई जागिर खुलाउँदै, लोकसेवा आयोगले दियो स्विकृति
काठमाडौं, २३ कात्तिक । काठमाडौं उपत्यकाको व्यवस्थित विकासका लागि भन्दै गठन गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई तत्कालै रोजगार दिने भएको छ । प्राधिकरणको कर्मचारी विनियमावलीलाई लोकसेवा आयोगले समेत स्विकृति दिइसकेको विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजलाई जानकारी दिए । ‘प्राधिकरणको कर्मचारी सम्बन्धी विनियमावलीलाई लोकसेवा आयोगले स्विकृति दिईसकेको छ, प्राधिकरणको भौतिक विकास समितिको आगामी बैठकबाट पारित गरेर आवेदन खुल्ला गर्छाै’, तिवारीले भने । उनले नयाँ कर्मचारी नियुक्तीसँगै प्राधिकरणले पुनर्जिवन प्राप्त गर्ने दावी गरे । ‘अहिले प्राधिकरणको कर्मचारी म एक्लै छु, बाँकी सबै कोहि काजका छन भने कोहि करारमा नियुक्त गरिएका छन्’, तिवारीले गुनासो पोखे । काज र करारका सिमित कर्मचारीका भरमा प्राधिकरणले सोचे जस्तो काम गर्न नसकेको पनि उनले बताए । ‘काज र करारका सिमित कर्मचारीका साथमा काम गरिरहेका थियौं, आफ्नै दरबन्दीमा कर्मचारी नियुक्त गरिएपछि कामको रफ्तार बढ्नेछ, उपत्यकाको विकास निर्माणले तिब्र गति पाउने छ’, तिवारीले भने । उनले कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी नियुक्त गरिने बताए ।‘कार्यालय सहयोगीदेखि इञ्जिनियर, आर्किटेक्ट, लेखापाल हुँदै सहसचिवसम्मको दरबन्दी पाएका छौं, सोही अनुसार नियुक्ती प्रक्रिया अघि बढ्छ’, तिवारीले सुनाए । हाल प्राधिकरणको विकास आयुक्तको कार्यालयका अवला काठमाडौं, भक्तपुर र ललितपुरमा जिल्ला आयुक्तको कार्यालय रहेको छ । प्राधिकरणले उपत्यकाका तीन जिल्लाको सडक विस्तार तथा व्यवस्थित शहरीकरण र हरियाली प्रवद्र्धनमा काम गरिरहेको छ ।
अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लालबहादुर थिङ नियुक्त
लालबहादुर थिङ, अल्पाइन विकास बैंकको सिइओ काठमाडौं, २३ कात्तिक । अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् । गत कात्तिक १० गते बसको बैंकको ११७औँ बैंक सञ्चालक समितिको बैठकले थिङलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । थिङले कात्तिक १० गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।