सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सीईओमा केशव कुमार पौडेल नियुक्त भएका छन् । साउन १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ । साविकको साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज भई सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । साविक सबैको लघुवित्तमा यसअघि उनी दोस्रो कालका लागि सीईओमा पुन: नियुक्त भएका थिए । २०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्यानुभव छ । उनी २०७४ जेठ १ गतेदेखि सबैको लघुवित्तमा सीईओका रुपमा कार्यरत थिए ।

युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा नितु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको अध्यक्षमा फेसन डिजाइन र होटल व्यवसायमा ख्याति कमाएकी नितु श्रेष्ठ नियुक्त भएकी छिन् । काठमाडौंमा मंगलबार सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारणसभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा एल्भिस रन्जित र द्वितीय उपाध्यक्षमा अनुकुल श्रेष्ठ नियुक्त भएका छन् । मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्य समितिको अवधि एक वर्ष हुन्छ । च्याप्टरको कार्यसमिति सदस्यमा प्रकिरण श्रेष्ठ, शिखर पाण्डे, निरज अग्रवाल, जश श्रेष्ठ, पलस जोशी, अशांक समशेर जंगबहादुर राणा र निशान ढकाल नियुक्त भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठ पदेन सदस्यका रुपमा रहन्छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले स्टार्टअप उद्यमीलाई व्यावसायिक स्रोत र संरक्षण प्रदान गर्ने इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने, उद्यमीलाई अन्तर्राष्ट्रिय संस्था र सरकारी निकायमार्फत अवसरहरुसँग जोड्ने र सदस्य लक्षित नेतृत्व विकास तालिमलाई निरन्तरता दिने बताइन् । महिला उद्यमीलाई स्रोत, संरक्षण र प्लेटफर्ममार्फत विशेष जोड दिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी विभिन्न उद्योगमा संलग्न सदस्यलाई एकै ठाउँमा ल्याउने र फरक व्यावसायिक क्षेत्रबीच सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठको योजना छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले महिलालाई नेतृत्वमा अगाडि सारेको भन्दै च्याप्टर नेतृत्व र सदस्यहरुको सराहना गरे । उनले देश बनाउने उद्यमीले नै भएकोले सरकारी निकायसँग सहकार्य गर्दै अघि बढ्न सुझाए । सरकारसँग काम गर्न गाह्रो भए पनि निराश नहुन उनले सुझाव दिए । खेलाडीको लागि आवश्यक पर्ने ब्याच विदेशबाट आयातित सामानबाट नभई ललितपुरमा उत्पादित सामानबाट बनाउने नीतिगत निर्णयको तयारी गर्दै गर्दा सरकार ढलेको पनि उनले जानकारी दिए । तुलनात्मक लाभका क्षेत्रमा व्यवसाय गर्नुपर्नेमा जोड दिएका उनले खेलकुदमा पनि राम्रो व्यवसायको सम्भावना रहेको बताए । नेपालका रमणीय गल्फ कोर्समा दक्षिण कोरियाली खेलाडी ल्याएर प्रतियोगिता गर्न सकिने उनले बताए । च्याप्टरका नवनियुक्त प्रथम उपाध्यक्ष एल्भिस रन्जितले स्वागत मन्तव्यका क्रममा सन् २०२१ मा १५ सदस्यबाट सुरु भएकोमा अहिले सदस्य संख्या ९० पुगेको जानकारी दिए । उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले अघिल्लो वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए भने नवनियुक्त द्वितीय उपाध्यक्ष अनुकुल श्रेष्ठले अघिल्लो कार्यकालमा सम्पन्न भएका कार्यक्रमबारे जानकारी गराएका थिए । उद्घाटन सत्रलाई युवा उद्यमी मञ्चका नेसनल गभर्निङ काउन्सिल अध्यक्ष सहारा जोशीले पनि सम्बोधन गरेकी थिइन् ।

मातृभूमि लघुवित्तले माग्यो सीईओ, उमेर ४० वर्ष हुनुपर्ने

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चयन गर्ने भएको छ । साविकको किसान लघुवित्त र साविकको जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपश्चात् बनेको मातृभूमि लघुवित्तले खुला प्रतिस्पर्धाबाट सीईओ चयन गर्ने भएको हो । लघुवित्तले बुधबार एक सूचना प्रकाशन गरी सीईओका लागि आवेदन आह्वान गरेको छ । इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित साउन ९ गतेभित्र दरखास्त आवेदन दिन लघुवित्तले आग्रह गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ । लघुवित्तको सीईओका लागि आवेदन दिँदा ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिने लघुवित्तले जनाएको छ । लघुवित्तका अनुसार व्यावसायिक योजना, प्रस्तुतिकरण तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिनेछ । रितपुर्वक प्राप्त दरखास्तमध्ये शैक्षिक योग्यता तथा कार्यानुभका आधारमा सर्टलिष्टमा परेका आवेदकहरूलाई मात्र संस्थाको व्यवसायिक योजना, प्रस्तुतिकरण र अन्तर्वार्तामा सामेल गराईनेछ ।