सरकारले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दै

काठमाडौं । सरकारले सात प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ । मंगलबार सिंहदरबारस्थित श्रम मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने जानकारी दिएको हो । सरकारले सात प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागेको बताएको छ । सरकारले जेठ १७ र १८ कोशी प्रदेश,१९-२० मधेस प्रदेश,२१–२२ गण्डकी प्रदेशको पोखरा,२३-२४ लुम्बीनी,२५-२६ कर्णाली प्रदेशको सुर्खेत,२७-२८ सुदुरपश्चिम प्रदेशको धनगडी र २९-३० बागमती प्रदेशको ललितपुरमा श्रमाधान मेला आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताए । उनले मंगलबारदेखि नै दर्ता खुला भएकाले रोजगारदाता कम्पनीहरू र रोजगारीको खाजीमा रहेका नेपालीहरू जाेडिन सकिने बताए । सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको उनकाे भनाइ छ । मन्त्री अर्यालले ‘श्रमाधान रोजगार मेला’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको बताए । उनले श्रमाधान रोजगार मेलामा सातै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको बताए । श्रमाधान रोजगार मेला सरकारको सानो प्रयास मात्रै भएको उनकाे भनाइ छ ।

हिरोको ब्राण्ड एम्बेस्डर बने सुशान्त, सुरक्षा र दयाहाङ

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली कला क्षेत्रका तीन व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ । नक्साल स्थित स्टेट अफ दी आर्ट शोरुममा एक समारोहकाबीच ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । गायक सुशान्त केसी हिरो एक्सपल्स, अभिनेत्री सुरक्षा पन्त हिरो जुम र अभिनेता दयाहाङ राईलाई हिरो स्प्लेन्डरका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले झापा विर्तामोड निवासी डा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने, कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ । साथै वित्तीय हस्तान्तरणको सम्बन्धमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका सङ्खुवासभा र ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आप्रवासन केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख दुई हजार रुपैयाँका दरले रकम पठाउने निर्णय पनि आजको बैठकमा भएको उनले जानकारी दिए ।