महानरपालिकाको श्रम बैंकबाट ४ सयले पाए रोजगारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए । उनका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ । व्यक्तिको कार्यक्षमताका आधारमा दैनिक ज्यालामा रोजगार दिने गरिएको उनले बताए । ‘कार्यालयमै आएर फाराम बुझाउनेहरु थुप्रै हुनुहुन्छ’, उनले भने, ‘यद्यपि श्रमप्रतिको सम्मान भाव नभएका कारण अझै रोजगार खोज्दै आउने युवाको जमात थोरै देखिन्छ ।’ अनलाइन फाराम भर्ने भनिए पनि भौतिक उपस्थिति अनिवार्य भएकाले बैंकसम्म आउनेको सङ्ख्या तुलनात्मकरुपमा थोरै भएको उनको बुझाइ छ ।
नेपाल वेयरहाउजिङ्गको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सदिक्षा श्रेष्ठ नियुक्त भएकी छन् । चैत्र २२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ लाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसै सम्वन्धमा कम्पनीका अध्यक्ष आनन्द वगडियाले कम्पनीले प्रदान गर्ने सेवा र सुविधाको अवधारणा अधिक जनमानस सामु पुर्याउन श्रेष्ठको भुमिका महत्वपुर्ण रहने बताएका छन् । यसैगरी श्रेष्ठले सञ्चालक पदमा आफुले युवाको नेतृत्व गर्ने भएकोले गौरवान्वित महसुस गरेको बताएकी छिन् । साथै विश्वभरी कृषी क्षेत्रमा रूपान्तरण ल्याउन महत्वपुर्ण रहेको वैज्ञानिक अन्न भण्डारण र वेयरहाउस रिसिप्ट जस्ता सेवा हरू नेपाली कृषकमाझ पुर्याउन र नेपाली कृषी क्षेत्रको आधुनिकिकरणमा आफुले अनवरत प्रयास गर्ने विचार व्यक्त गरेकी छिन् ।
योग्यताका आधारमा उपकुलपति छनोट गरिएको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन् । हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले बिहीबार सिंहदरबारमा गरेको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताए । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा हेमराज पन्तले नियुक्तिपत्र बुझेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिएका छन् । ‘विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।