नेपाल उद्योग परिसंघको महानिर्देशकमा ओझा नियुक्त
काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे । नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ विशेष ध्यान दिने बताए । डा. ओझाले द काठमाडौं पोष्ट, नेपाल रिपब्लिक मिडियामार्फत पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रतिष्ठित संस्थाहरुमा काम गरिसकेका छन् । उनले जनप्रशासनमा विद्यावारिधी हासिल गरेका छन् ।
निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा प्रकाश सपुत नियुक्त
काठमाडौं । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको छ । निओ मनि ट्रान्सफरबाट विदेशमा रहनु भएका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेडमै बैंक खाता (लधुवित्त र सहकारी संस्थाहरु सहित) तथा वालेटमा प्राप्त गर्न सकिन्छ । त्यसै गरि पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ । आफ्नो नवीन प्रविधि र व्यापार मोडेलको साथ, निओ मनि ट्रान्सफरले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी विनिमय दरहरूमा रेमिट्यान्स सेवाहरू प्रदान गर्दछ । यस कम्पनीको लक्ष्य भने ग्राहक सन्तुष्टि र वित्तीय सशक्तिकरणमा ध्यान केन्द्रित गर्दै विश्वभर सुरक्षित, किफायती रेमिटेन्स सेवा सुविधा पुर्याउने रहेको छ । ब्रान्ड एम्बेसडरका रूपमा प्रकाश सपुतको नियुक्ति रेमिट्यान्स व्यवसायको सन्दर्भमा निओ मनि ट्रान्सफरलाई सामान्य घरपरिवारको नामको रूपमा चित्रण गर्ने रणनीतिक कदम हो । प्रकाश सपुतका प्रशंसक र अनुयायीहरु मार्फत देशमा रेमिट्यान्सको महत्व बारे ध्यान केन्द्रित गर्दै, नेपाल र विदेशमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने यस कम्पनीको योजना रहेको छ । उनको लोकप्रियतासँगै, उनको सामाजिक प्रभावले निओ मनि ट्रान्सफरको विशेष रेमिटेन्स सेवाहरू, नेपालको ग्रामीण र अर्ध–शहरी क्षेत्रहरु साथै विदेशमा रहेका नेपालीहरुमा पनि चेतना जगाउन मद्दत गर्नेछ । ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति प्रकाश सपुतसँग साझेदारी गर्न पाउँदा हामी निकै रोमाञ्चित छौं । प्रकाश सपुत धेरैका लागि प्रेरणा हुन् र हामी विश्वास गर्छौं कि यो साझेदारीले हाम्रो दृश्यतालाई उल्लेखनीय रूपमा बढावा दिनेछ र हाम्रो सेवालाई अझै लोकप्रिय बनाउनेछ ।’ देशको अर्थतन्त्रमा बलियो तेवा पुर्याएको रेमिटेन्समा निओ मनि ट्रान्सफरद्धारा विश्व भर छरिएर रहेका नेपाली दाजु भाई दिदी बहिनीहरु सँग जोडिन पाउँदा सपुतले पनि हर्ष व्यक्त गरेका छन् ।
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन
काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई पुनःअध्यक्षमा चयन गरेको हो । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् । इन्स्योरेन्सको सदस्यहरूमा सञ्चालकहरूको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्षसमेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघसंस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् । प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।