एनआईसी एशिया बैंकका सीईओ सुजित शाक्यले सम्हाले कार्यभार
काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यले कार्यभार सम्हालेका छन् । गत सोमबार बैंकको सीईओमा नियुक्त भएका शाक्यले बिहीबार (आज) कार्यभार सम्हालेका हुन् । उनले नियुक्त भएकाे ३ दिनमा कार्यभार सम्हालेका हुन् । बैंक सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले सीईओमा शाक्यलाई नियुक्त गरेको थियो । यसअघि शाक्य नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) रहेका थिए । उनी ४ वर्षका लागि एनआईसी एशिया बैंकको सीईओमा नियुक्त भएका हुन् । भारतको लखनउस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट पोस्ट ग्य्राजुएट डिप्लोमा इन बिजनेश म्यानेजमेण्ट गरेका शाक्यले सन् १९९६ मा नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । उनले जुलाई १९९७ देखि १२ अप्रिल २००५ सम्म हिमालयन बैंक, १३ अप्रिल २००५ देखि १७ जुलाई २००७ सम्म लक्ष्मी सनराइज बैंक, १० अक्टोबर २००७ देखि २९ जुन २०१३ सम्म साबिक बैंक अफ एशिया नेपाल, ३० जुन २०१३ देखि १२ फेब्रुवरी २०१७ सम्म एनआईसि एसिया बैंकमा काम गरेका थिए । यस्तै, उनले १ मार्च २०१७ देखि १६ अप्रिल २०१९ सम्म साबि सिभिल बैंक, २२ अप्रिल २०१९ देखि ५ डिसेम्बर २०१९ सम्म साबिक जनता बैंक र डिसेम्बर २०१९ देखि अगस्ट २०२० सम्म ग्लोबल आइएमई बैंकमा काम गरेको अनुभव छ । नेपाली बैंकिङ क्षेत्रमा ३ दशकको कार्यानुभव भएका शाक्यले आधा दर्जन बढी संस्थामा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । १६ अगस्ट २०२० देखि हालसम्म भने उनी नबिल बैंकको डीसीईओको रूपमा कार्यरत थिए ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरञ्जन फुँयाल
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरञ्जन फुँयाललाई नियुक्त भएका छन् । कात्तिक १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले फुँयाललाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै कार्यभार समाल्नेछन् ।
स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखामा निर्देशक हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहत रहेका विभिन्न महाशाखा तथा केन्द्रका प्रमुखको जिम्मेवारी फेर गरेको छ । स्वास्थ्यमन्त्रीको रुपमा आएकी मन्त्री डा. सुधा शर्मा गौतमले मंगलबार नयाँ तथा केही अधिकारीको जिम्मेवारी हेरफेर गरेकी हुन् । जस अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा वीर अस्पतालमा कार्यरत डा. मदन कुमार उपाध्ययलाई जिम्मेवारी दिएको छ । यसअघिका निर्देशक डा. विवेकलाल कर्ण निलम्बनमा परेपछि रिक्त पदमा उपाध्यायलाई पठाएको छ । यस्तै देवकोटाले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झालाई कोशी अस्पतालमा पठाएको छ । कोशी अस्पतालको निर्देशक डा. रुणा झालाई आफ्नो विज्ञताको रुपमा उपचार सेवामा केन्द्रीत गराएर भन्द्रभाललाई निर्देशकको जिम्मेवारी दिइएको छ । यस्तै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा केशवराज पण्डित, उपचारात्मक सेवा महाशाखामा डा. पवनजंग रायमाझी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा डा. राधिका थपलियालाई जिम्मेवारी दिएको छ । मन्त्रालयमा नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।