मातृभूमि लघुवित्तको कामु सीईओमा बटाला नियुक्त

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा बखत बहादुर बटाला नियुक्त भएका छन् । मंसिर १ गते बसेको संस्था सञ्चालक समितिको बैठकले बटालालाई कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाका सीईओ लक्ष्मी प्रसाद शर्माले पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा नायव प्रमुख कार्यकारी अधिकृत बटालालाई कामु सीईओको जिम्मेवारी दिइएको हो । संस्थाका अनुसार बटालाले मंसिर २ गतेदेखि कार्यभार समाल्नेछन् । 

खल्ती बाइ आईएमईको सीईओ बन्दै प्रवीण रेग्मी, बाहिरिए खड्का

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण कुमार रेग्मी नियुक्त हुने भएका छन् । वालेट कम्पनी खल्तीको सञ्चालक समिति बैठकले रेग्मीलाई सीईओमा नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएकाे छ ।  यससँगै कम्पनीका सीईओ विनय खड्का कार्यकाल सकिएपछि कम्पनीबाट बाहिरिएका छन् । खल्ती र आईएमई पेबीच मर्जर भएपछि खड्का खल्ती आईएमई लिमिटेडको सीईओ बनेका थिए । त्यसअघि उनी साबिक खल्तीको सीईओ थिए । डिजिटल वालेट खल्तीलाई उचाइमा पुर्याउन खड्काले महत्त्वपूर्ण भूमिका खेलेका छन् । यस्तै, हाल आईएमई खल्तीको सञ्चालक रहेका रेग्मीले अब कार्यकारी भूमिका निर्वाह गर्नेछन् । यसअघि साबिक आईएमई पेको सीईओ रहेका रेग्मी खल्तीसँग मर्जरपछि कम्पनीको सञ्चालक बनेका थिए । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवं बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ ।  उनकाे भुक्तानी प्रणाली, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल छ ।

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

काठमाडौं । सोमानी सेरामिक्सले नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा  नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्रान्ड फेसको रूपमा पारस खड्का सोमानी सेरामिक्सका टायल्स, बाथवेयर, एडहेसिभ र वाटरप्रूफिङ लगायतका सम्पूर्ण उत्पादनहरूको प्रवर्द्धन सम्बन्धी विभिन्न गतिविधिमा सहभागी हुने कम्पनीले जनाएकाे छ । सहकार्यको प्रसङ्गमा सोमानी सेरामिक्सका सह-अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, 'पारस खड्काको लगनशीलता र उत्कृष्टताको यात्रा हाम्रो नवीनता र नेतृत्वका सिद्धान्तसँग मेल खान्छ । नेपाल लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारमध्ये एक हो र पारसको विश्वसनीयता तथा जनसम्पर्कले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्ष्यलाई अझ सुदृढ बनाउनेछ ।' त्यसैगरी, सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस खड्कालाई 'नेपालमा घर-घरमा चिनिएको नाम' भन्दै प्रशंसा गरे । उनले भने, 'पारस केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारी र सकारात्मक प्रभावका कारण पनि सबै पुस्तामा लोकप्रिय छन् । युवादेखि परिवारसम्म सबैमा उनी मनपर्ने व्यक्तित्व हुन्, जसले सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नेछन् ।' पारस खड्काले पनि सोमानीसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, 'मैले जस्तै उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग काम गर्न पाउनु गर्वको कुरा हो । सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको प्रतीक हो, र मैले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको छु।' कम्पनीका अनुसार यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ ।