नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ । सहायक पददेखि सहायक निर्देशक गरी ७६ जना कर्मचारी मागेको हो । राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागका अनुसार अधिकृत तृतीय श्रेणीमा सहायक निर्देशक अर्थशास्त्र र व्यवस्थापन तर्फ १/१ जना, सहायक निर्देशक ३९ जना, लेखा तथा लेखापरीक्षणतर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना र सहायक द्वितीय २१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ ।
सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रामेश्वर प्रसाद बस्याललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। हाल बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । सीईओ पदावधि सकिन लागेका कारण बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको छ ।
नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते कम्पनी सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले सञ्चालक पदमा संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।