हिमालयन लाइफ इन्स्योरेन्सको सीईओमा कपिलकुमार दाहाल, को हुन् उनी ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको ईश्वर कुमार सेडाईले जानकारी दिए ।  उनका अनुसार यसअघि दहाल निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि दाहाललाई सीईओको जिम्मेवारी दिएको हो । नवनियुक्त सीईओ दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध छन् । ४७ वर्षिय दाहाल चार्टर्ड एकाउण्टेन्ट (सीए) समेत हुन् । दाहालले सन् २००९ मा भारतको चेन्नईस्थित आईसीएआईबाट आफ्नो सीए गरेका हुन् ।  सर्लाही जिल्ला ढुंगे्रखोला नगरपालिका-४ का बासिन्दा दाहालसँग लेखा, वित्तीय व्यवस्थापन, लेखा परीक्षण र बीमा क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ । उनले बीमा, कर, सूचना व्यवस्थापन प्रणाली, व्यवसाय व्यवस्थापन, एएमएल, आईएफआरएस र एनएफआरएस सम्बन्धी विभिन्न तालिमहरू लिएका छन् ।

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । शितलनिवासमा आइतबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले शपथ लिएका हुन् । डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् । डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान मन्त्रीमण्डल विस्तारको लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।  मन्त्रीमण्डलमा चार जनाको नाम सिफारिस भएपनि विवादका कारण दुई जनाको मात्रै आइतबार शपथ भएको हो । प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेकी थिइन् । उनीहरुको भने शपथ रोकिएको हो । यसअघि प्रधानमन्त्री कार्कीले ७ जना मन्त्री नियुक्त गरिसकेकी छन् । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको छ । 

सानिमा बैंकको अध्यक्षमा पुनः पौडेल चयन, सञ्चालकमा पराजुली र कुम्पाख

काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । कात्तिक २ गते सम्पन्न २१ औँ वार्षिक साधारण सभाबाट पौडेल सहित बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निर्वाचित भएका थिए । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः अध्यक्षमा चयन गरिएकाे कम्पनी सचिव रूद्र प्रसाद बन्जराले जानकारी दिए ।  बन्जराका अनुसार साधारण सभाले एसएआर एसोसिएट्स चार्टर्ट एकाउन्टेन्टस्लाई चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न वाह्य लेखापरीक्षकमा नियुक्त गरिएको छ ।