राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । लुम्बिनी प्रदेशका रुपन्देहीका नवनियुक्त सञ्चालक श्रेष्ठले माघ २ गते अध्यक्ष दिनेश उपाध्यायमार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुइटेल नियुक्त
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मन्दिप लुइटेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) उक्त क्यापिटलमा लुइटेल करार सेवामा सीईओमा नियुक्त भएका हुन् । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी लुइटेललाई आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । राजविराज, सप्तरी निवासी निज लुइटेल यसअघि सानीमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए । भारतको पुनेबाट एमबीए गरेका लुइटेलले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् । भारतको मुम्बईस्थित आइसीआइसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट/स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका निज लुइटेलले नेपालका पुँजी बजारको बारेमा विशेष दखल राख्छन् ।
ज्योति विकास बैंकको १६औं साधारण सभा सम्पन्न, सञ्चालकमा महर्जन निर्विरोध
काठमाडौं । ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते आइतबार काठमाडौंको नक्सालमा सम्पन्न भएको उक्त सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् । सभाले बैंकको सर्वसाधारण सेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । समीक्षा अवधिमा यस बैंकले नेपाल सरकारलाई राजश्वमा जम्मा ६२ करोड ७५ लाख रुपैयाँको उल्लेखनीय योगदान पुर्याएको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको बताइएको छ । हाल विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ । बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।