आँखुखोला जलविद्युतको सञ्चालक समितिमा ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १६ औं वार्षिक साधारणसभा शुक्रबार बैभव पार्टी प्यालेस मैतीदेवीमा भव्य र सभ्यरुपले सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।
डा. मनिष थापा नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूतमा नियुक्त
काठमाडौं । कोस्टारिका सरकारले डा.मनिष थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको छ । नेपाल र कोस्टारिकाबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिँदै कोस्टारिका सरकारले डा.थापालाई उक्त पदमा नियुक्त गरेको हो । यो नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य र सम्बन्धलाई सुदृढ पार्ने बताइएको छ । नेपाल र कोस्टारिकाबीच अगस्ट १६, १९७७ मा पारस्परिक विश्वास, मित्रता र सद्भावनामा आधारित कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । डा. थापाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्त्वलाई जोड दिनेछ । नेपाल र कोस्टारिकाबीचको सहकार्यले व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ, जहाँ दुवै राष्ट्रले विकास र पारस्परिक लाभका लागि पर्याप्त सम्भावना देख्छन् । अवैतनिक वाणिज्यदूतको हैसियतमा डा. मनिष थापाले नेपाल र कोस्टारिकाबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढाव उनले प्रयास गर्नेछन् । कोस्टारिका सरकारले डा. थापालाई बधाई दिँदै नेपालसँग समृद्ध साझेदारीको अपेक्षा गरेको छ । यसले डा. थापाको पहल र द्विपक्षीय सम्बन्धलाई अटल समर्थन देखाउँछ । नेपाल र कोस्टारिकाबीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन डा. मनिष थापाले महत्वपूर्ण भूमिका खेलेको इतिहास छ । उनको प्रयासमा कोस्टारिकाको संयुक्त राष्ट्रसंघीय युनिभर्सिटी फर पिसमा प्राध्यापकको रूपमा सेवारत रहँदा अक्टोबर २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कोस्टारिकाको उच्चस्तरीय आधिकारिक भ्रमणलाई सहजीकरण गरेका थिए । यो भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा कोस्टारिकाको अवैतनिक महावाणिज्यदूत कार्यालय ग्लोबल इक्विटी फण्डको कार्यालय सानेपामा अवस्थित छ । जसले कोस्टारिका र नेपाली नागरिक दुवैलाई आवश्यक कन्सुलर सेवाहरू उपलब्ध गराउने छ, जसले दुई राष्ट्रहरू बीचको महत्वपूर्ण पुलको रूपमा काम गर्नेछ । डा. थापाले सरकारी अधिकारीहरू, व्यवसायी नेताहरू र सांस्कृतिक संस्थाहरूसँग सहकार्य र वृद्धिका नयाँ मार्गहरू खोज्न सक्रिय रूपमा संलग्न हुने अपेक्षा गरिएको छ । नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतका रूपमा डा. मनिष थापाको नियुक्ति दुवै देशको कूटनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई विस्तार र सुदृढ पार्ने अवसरका रूपमा हेरिएको छ ।
गुडविल फाइनान्सको सीईओमा तुलाधर पुनः नियुक्त
काठमाडौं । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तुलाधरलाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।