प्रभु महालक्ष्मीको निमित्त सीईओमा सन्तोष प्रसाई, माघ १६ गतेदेखि लागू हुने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सीईओ रमेश कुमार भट्टराई स्वीकृत बिदामा बस्ने भएकाले सञ्चालक समितिले निमित्त सीईओमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सीईओ भट्टराई माघ १६ गतेदेखि माघ २९ गतेसम्म स्वीकृत बिदामा बस्दै छन् । यससँगै प्रसाईले माघ १६ गतेदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने छन् । साथै, कम्पनीका अनुसार सीईओ भट्टराईले फागुन १ गतेदेखि अवकाश लिँदैछन् ।
गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागकै उपमहानिर्देशकका रुपमा कार्यरमत जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो । यसअघि यही माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् । उनको नियसक्तिसँथै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ ।
छिमेक लघुवित्तको सीईओमा तिवारी नियुक्त
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपक निधी तिवारी नियुक्त भएका छन् । माघ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओ पदमा नियुक्त गरेको हो । उनले माघ ११ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।