नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशक लामो अनुभव
काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्यूरिटिजको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागू हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा सेवा प्रदान गरेका थिए । नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ति पश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । व्यवसायीकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ । नबिल बैकले पुँजी बजारको विकास तथा व्यावसायिकता योगदान पुर्याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्यूरिटिज नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर) को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो । चुक्ता पुँजी एक अर्ब ५२ करोड रुपैयाँ रहेको संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूर्णकालीन धितो पत्र दलाल सेवा, लगानी व्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदान गर्ने गरेको छ । नबिल सेक्यूरिटिजले नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलाल सेवा (धितोपत्र ब्रोकर नम्बर) ७७ को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ ।
महानगरले श्रम बैंकमा आवद्ध सबैको बीमा गरिदिने, यसरी समाधान गर्दैछ बेरोजगारको समस्या
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको बेरोजगारको समस्यालाई ३ वर्षभित्र समाधान गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र साहले ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ नामक योजना सार्वजनिक गर्दै उक्त योजना मार्फत बेरोजगारको समस्या हल गर्ने बताएका हुन् । उनका अनुसार यो योजनाअन्तर्गत हरेक वर्ष कम्तिमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तिमा पाँच हजारलाई नयाँ रोजगारी सृजना गर्ने महानगरको लक्ष्य छ । साथै, महानगरले श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको मेयर बालेनले बताए । महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंकको स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याइएको मेयर बालेन बताउँछन् । महानगरले ल्याएको श्रम बैंकमा महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आवद्ध हुन सक्नेछन् । यस्तो छ महानगरको उद्देश्य श्रम बैंकमा आवद्ध भएका दक्ष कामदारहरुलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउने, अर्धदक्ष जनशक्तिलाई क्षमता अभिवृद्धिका लागि तालिम दिई काममा लगाउने, अदक्ष कामदारहरुलाई रोजगारी र आयवृद्धि काठमाडौंको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने रहेको छ । श्रम बैंकमा आवद्ध जनशक्तिलाई महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन, महानगर जब पोर्टलमार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु, महानगरको श्रम बैंक एप मार्फत पार्ट टाइम जबको रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटकेका रुपमा जुनसुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने मेयर बालेनले बताए । सबै किसिमका कामदारहरुलाई काम गर्दाका अनिवार्य बीमा गरिने उनले बताए । गौरबको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टरको स्थापना गरि बाह्रै महिना बिहानदेखि साँझसम्म नियमित तालिम संचालन गर्ने महानगरको योजना छ । सोका लागि महानगरले बजार मुखी सिलेबल निर्माणको समेत काम गरिरहेको छ मेयर बालेनले जानकारी गराए । निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र, उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवश्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्रको आवश्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था महानगरले मिलाइएको छ। श्रम बैंकमा आबद्ध हुनका लागि मेयर बालेनले लिंक तथा क्युआर उपलब्ध गराएका छन् । इच्छुकले उक्त लिंक वा क्युआरमा क्लिक गरि फारम भरि आवेदन दिन सक्नेछन् । साथै, महानगर भित्र सञ्चालित विभिन्न जब एजेन्सीहरु र तालिम प्रदायक संस्थाहरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिने छ । महानगरले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित ह्याडिम्यान जस्तै श्रम बैंक एपको ओपन एपीआई हाल सञ्चालनमा रहेका अन्य निजी कम्पनीका सोहि प्रकृतिका एपहरुलाई निशुल्क उपलब्ध गराइने जानरकारी समेत मेयर बालेनले दिएका छन् ।
नेपाल बैंकले माग्यो नयाँ सीईओ, कति चाहिन्छ योग्यता ?
काठमाडौं । नेपाल बैंकले खुल्ला प्रतिस्पर्धा मार्फत् नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्ति गर्ने भएको छ । कृष्ण बहादुर अधिकारीको कार्यकाल सकिएपछि खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको हो । बैंकले आइतबार एक सूचना प्रकाशन गरी २१ दिनभित्र योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य ब्यक्तिलाई आवेदन पेश गर्न आग्रह गरेको हो । बैंकको सीईओ पदका लागि आवेदन दिने ब्यक्तिको योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विपयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ । चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्गशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरुलाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिनेछ । छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ ।