बलेफी हाइड्रोको सीईओमा सुवास अर्याल नियुक्त
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास अर्याल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले अर्याललाई सीईओमा नियुक्त गरेको हो । यसअघि सीईओ रहेका राजन धितालले राजीनामा दिएपछि अर्याल सीईओमा नियुक्त भएका हुन् । धितालले दिएको राजनीमा सञ्चालक समितिले स्वीकृत गरेको कम्पनी सचिव साकार पोखरेलले जानकारी दिए । महाप्रबन्धक अर्याललाई अर्काे व्यवस्था नभएसम्मका लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, को हुन् उनी ?
काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष केसी यसअघि सञ्चालक समिति सदस्य थिए । संस्थापक सेयरधनी डा.उपेन्द्र महतोले अध्यक्ष पदबाट राजीनामा दिएपछि केसी अध्यक्ष बनेका हुन् । साथै, डा. महतो बैंकमा संलग्न नरहेको कम्पनी सचिव सुभाष जमरकटेलले जानकारी दिए । अध्यक्ष केसी पोखराका युवा व्यवसायी हुन् । उनले स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका छन् । उनी हाइड्रो व्यवसायी हुन् । पोखरा बचत तथा ऋण सहकारी लिमिटेड, भगवती हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्टमा सञ्चालक भएर काम गरेको अनुभव उनीसँग छ । साथै, उनले के.सी. कन्स्ट्रक्सन प्रा.लि. सञ्चालन गरिरहेका छन् । उनको स्थायी घर महानगरपालिका ७ मुस्ताङ्गचोक हो ।
विन नेपाल लघुवित्तको सीईओमा खनाल नियुक्त
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जीवन खनाल नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिको कात्तिक २९ गते बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । खुला प्रतिष्पर्धाबाट लघुवित्तको छनोट भएका खनाल आगामी ४ वर्षका सीईओमा नियुक्त भएका हुन् । नवनियुक्त सीईओ खनालले आज मंसिर ५ गतेदेखि पदभार ग्रहण गर्ने कम्पनी सचिव सुमन श्रेष्ठले जानकारी दिए । यसअघि स्वस्तिक लघुवित्तको सीईओ समेत भएर काम गरेका खनाल सानिमा रिलायन्लास लाइफमा आवद्ध भएका थिए । तत्कालीन स्वावलम्वन विकास केन्द्रमा २०६३ सालमा ट्रेनि एसिस्टेन्टबाट करिअर सुरु गरेका खनालसँग सिभिल लघुवित्त (हाल हिमालयन लघुवित्त), स्वदेशी लघुवित्त गरी लघुवित्त क्षेत्रमा करिब २ दशक काम गरेको अनुभव छ ।