विद्युत् प्राधिकरणले माग्यो ४ सय जना कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विभिन्न पदका लागि झण्डै ४ सय जना कर्मचारी मागेको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै सातै प्रदेशका लागि विभिन्न पदमा झण्डै ४ सय जना कर्मचारी मागेको हो । प्राधिकरणका अनुसार दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो । प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ । ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो । प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन भर्नका लागि प्राधिकरणको वेभसाइटमा गएर अनलाइन फाराम भर्नु पर्नेछ ।

नेपाल फाइनान्सको सीईओमा पुनः उद्धबराज थपलिया

काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो । मंसिर २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ थपलियालाई पुनः नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद गौतमले जानकारी दिए । पाँचखाल नगरपालिका काभ्रे स्थायी घर भएका थपलियाले तत्कालिन किष्ट बैंक र प्रभु बैंकमा काम गरेका थिए । बैंकिङ्ग क्षेत्रमा २ दशक बढिको अनुभव भएका थपलियाले बेष्ट फाइनान्समा कामु सीईओ भएर काम गरेका थिए । बेष्ट फाइनान्स (तत्कालिन जनरल फाइनान्स)लाई जापान लगायतका एनआरएनहरुको समुहले खरिद गरी समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा फर्काउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरे पछि थपलिया जनरल फाइनान्समा वरिष्ठ व्यवस्थापकको रुपमा प्रवेश गरेका थिए । जनरल फाइनान्सको नाम परिवर्तन गरी वेष्ट फाइनान्सको नामबाट कारोवार गर्न, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा कम्पनीलाई फर्काउन र बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्ति गरी बेष्ट फाइनान्सको नामबाट कारोवार गर्न आवश्यक पर्ने कार्य गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सीआईटीबाट बाहिरिए रमण नेपाल, नयाँ कार्यकारी निर्देशक खोजिँदै

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि बाहिरिएका छन् । वि.सं. २०७५ कात्तिक २५ गते कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल सकिएपछि कोषबाट बाहिरिएका हुन् । नेपालको कार्यकाल सकिएपछि कोषले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरेको छ । कोषको कार्यकारी निर्देशक बन्न नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ । त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने सूचनामा उल्लेख छ । उक्त मापदण्ड अनुसार योग्यदा पुगेका आवेदकहरुले निवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नु पर्नेछ । प्राप्त आवेदन मध्ये बढीमा ५ जनाको नाम सर्टलिस्ट गरिने र सर्टलिस्टमा छनौट भएका उम्मेदवारले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नु पर्ने छनौट समितिले जनाएको छ । दोस्रो चरणमा अन्तिम ३ जनाको नाम अर्थ मन्त्रालय समक्ष सिफारिस गरिने सूचनामा उल्लेख छ । इच्छुक नेपाली नागरिकहरुले २१ दिन अर्थात् मंसिर ११ गतेसम्म आवेदन पेश गर्न कोषले आग्रह गरेको छ ।