प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन् । यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । डा. सापकोटा विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार छन् । उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए । हालै, प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा सापकोटालाई परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो ।
नेपाल प्रहरीमा ३ सय ५६ जनालाई जागिर खुल्यो
काठमाडौं । नेपाल प्रहरीले कर्मचारीको माग गरेको छ । नेपाल प्रहरीले ३५६ जना कर्मचारीको माग गरेको हो । प्रहरी प्रधान कार्यालयले आज एक सुचना प्रकाशित गरी ३ सय ५६ जना कर्मचारी माग गरेको जानकारी दिएको छ यसमध्ये प्रहरी निरिक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २६० जनालाई जागिर खुलाएको हो । कार्यालयकाअनुसार प्रहरी निरिक्षक पदमा ५२ जना खुल्ला, २ जना अमर वा अशक्त प्रहरी परिवार, महिला ९ जना, १२ जना आदिवासी जनजाती, १३ जना मधेशी, ६ जना दलित र २ जना पिडछिएको क्षेत्र गरि ९६ जनालाई जागिर खुलाईएको हो । त्यस्तै, प्रहरी सहायक निरिक्षकमा १४० जना खुल्ला, ५ जना अमर वा अशक्त प्रहरी परिवार, २३ जना महिला, ३६ जना आदिवासी जनजाति ३३ जना मधेशी, १७ जना दलित र ६ जना पिछडिएको क्षेत्र गरि कुल २६० जनालाई रोजगारी खुलाईएको छ । प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ । कार्यालयकाअनुसार कात्तिक १९ गतेदेखि कात्तिक कात्तिक २९ गतेसम्म् प्रहरी निरिक्षक पदको हकमा अनलाईन प्रणालीमार्फत र प्रहरी सहायक निरिक्षक पदको हकमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ । नेपाल प्रहरीका विभिन्न कार्यालयबाट दरखास्त फारम लिन सकिने कार्यालयले जनाएको छ ।
सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए सपथ
काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले कार्त्तिक १ गते बुधबार गभर्नर अधिकारी समक्ष आफ्ना पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष कार्य गरिसकेका छन् । इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइ रहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको वारेमा प्रकाश पारे ।