ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले ४ पदका लागि विभागीय प्रमुखमा १ जना, अनुगमन अधिकृतमा केही, शाखा प्रमुखका लागि केही र सहायक कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी तथा प्रशिक्षार्थी सहायकका लाग केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । व्यवस्थापकिय श्रेणीमा आवेदन दिनका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिने लघुवित्तले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले तोकिएको कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । बैंकको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पशुपति पौडेलले जानकारी दिए । सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकु र पुकार थापालाई सञ्चालक पदमा नियुक्त गरेको थियो । मलेकु संस्थापक समूह र थापा सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि अध्यक्ष रहेका राम प्रसाद रोपाखेती र संचालक रमेश पौडेलले राजीनामा दिएका थिए । उनीहरुले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृति भइसकेको बैंकले जनाएको छ । नवनियुक्त अध्यक्ष मलेकु राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । ३२ वर्ष राष्ट्र बैंकमा रहेर काम गरेका मलेकु उपनिर्देशक थिए । साथै, उनले कर्जा तथा निक्षेप सुरक्षण निगम र क्यापिटल मर्चेन्ट फाइनान्सको सीईओ समेत भएर काम गरेका थिए ।

सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालकमा अनलराज भट्टराई नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सञ्चालकमा डा. अनलराज भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले डा. भट्टराईलाई सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव सुबोध लाल श्रेष्ठले जानकारी दिए । कम्पनीका अनुसार भट्टराईलाई आगामी ४ वर्षका लागि सञ्चालक पदमा नियुक्त गरिएको हो । उनले कम्पनीमा स्वतन्त्र सञ्चालकको प्रतिनिधित्व गर्नेछन् । कम्पनी ऐन, २०६३ को दफा ८६ को उपदफा ३, बीमा ऐन, २०७९ को दफा ४९ को उपदफा २ तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० को दफा ६ बमोजिम भट्टराईलाई नियुक्त गरिएको हो । भट्टराई काठमाडौं महानगरपालिका १६ बालाजुका स्थानीय हुन् ।