नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकालाई महानगरले नगर प्रहरी बनाउने, आवेदन आह्वान
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी भर्ना गर्दा नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकालाई प्राथमकिता दिने भएको छ । महानगरपालिकाले नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकाले आवेदन दिएमा नगर प्रहरीमा भर्ना गर्ने बताएको हो । महानगरपालिकाले १ सय जना नगर प्रहरी जवान भर्ना गर्न गत बैशाख १० गते सूचना प्रकाशन गरेकोमा ३० जना उम्मेदवारलाई करार सम्झौता गरी काममा लगाइने र बाँकी रहेकोमा ७० जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैकल्पिक सूचीमा रहेकालाई भर्ना गर्ने भएको हो । महानगरले नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेका खुलातर्फ २४ जना, महिलातर्फ १५ जना, आदिवासी तथा जनजातितर्फ १२ जना, मधेशीतर्फ १ जना, दलिततर्फ ३ जना र अल्पसङ्ख्यकतर्फ १ जनालाई नगर प्रहरीमा नियुक्त गर्ने भएको हो । यस्तै, सशस्त्र प्रहरी तर्फको खुलातर्फको बैकल्पिक सूचीमा परेका १४ जनालाई पनि नगर प्रहरीमा भर्ना गर्ने भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान भर्नामा वैकल्पिक सूचीमा परेकाले १५ दिनभित्र निवेदन दिएमा यसअघि नियुक्ति दिई सकेकालाई कटाई करारमा नियुक्ति गरिने बताएको छ । इच्छुकले सूचीमा उल्लेखित दर्ता नम्बर खुलेको निवेदन र नागरिकताको प्रमाण पत्र पेश गर्नुपर्नेछ ।
नमस्ते पेको सीइओमा प्रवीणराज पोखरेल, २७ वर्षको अनुभव
काठमाडौं । नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत(सीइओ) प्रवीणराज पोखरेलले नियुक्त भएका छन् । कम्पनीको वैशाख १५ गते सञ्चालक समितिले पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको हो । पोखरेलले वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रियापछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी भएको बताए । पोखरेल धेरै अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरुमा कम्पनीहरूमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्र्याक रेकर्ड भएका व्यक्ति हुन् । यसअघि पोखरेल एफवान सफ्ट इन्टरनेशनल र एमएननेपालका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ । उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेका छन् ।
होटल संघ नेपालको अध्यक्षमा विनायक शाह
काठमाडौं । होटल संघ नेपालको अध्यक्षमा विनायक शाह निर्वाचित भएका छन् । संघको ४८औं वार्षिक साधारण सभाले शाहलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । उनी यसअघि नै सर्वसम्मत अध्यक्ष बनेको भएपनि शुक्रबार पत्रकार सम्मेलन गरेर अध्यक्ष बनेको घोषणा गरेको हो । शाह यसअघि कार्य समितिका प्रथम उपाध्यक्ष थिए । संघमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ ।