भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल
काठमाडौं । भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेल बनेका छन् । अर्थमन्त्रालयले खानेपानी मन्त्रालयमा रहेका सहसचिव पौडेललाई भन्सार विभागको महानिर्देशक बनाउने निर्णय गरेको हो । श्रोतका अनुसार पौडेलले बुधबार नै भन्सार विभागको पत्र बुझि सकेका छन् । उनले खानेपानी मन्त्रालयबाट भने मंगलबार नै राजिनामा दिएका हुन् । पौडेल राजस्व समूहका क्याडर हुन् । जनार्दन शर्मा अर्थमन्त्री भएको बेला उनी आन्तरिक राजस्व विभागका महानिर्देशक थिए ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा पन्त नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । जेठ १० गते दिउँसो ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थापक सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदमा लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे थिइन् । निजले व्यक्तिगत कारणले सञ्चालक पदमा रहि निरन्तरता दिन नसक्ने भएसँगै इन्स्योरेन्सले उक्त पदमा डा. राजेश पन्तकी छोरी शर्मा (ललितपुरको भक्तपुर निवासी) लाई नियुक्त गरेको हो । साथै, इन्स्योरेन्सले हाल लक्ष्मी बैंकको तर्फबाट कसैलाई पनि प्रतिनिधिको रुपमा सञ्चालक मनोनय नगर्ने जानकारी गराएको छ ।
विद्युत् उत्पादन कम्पनीले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?
काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गरी १५ दिनभित्र सीईओ पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीको सीईओ बन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा ४ चार वर्षको काम गरेको सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनु पर्नेछ । साथै, अन्य पूर्वाधार क्षेत्रको कम्तीमा २ वर्षको कार्य अनुभवसहित मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धत प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धानको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ४० वर्ष पूरा भई ६१ वर्ष ननाघेको पुगेका नेपाली नागरिकले दरखास्तसँगै बायोडाटा र व्यवसायिक रणनीति कार्ययोजना पेश गर्न कम्पनीले आग्रह गरेको हो । विद्युत् उत्पादन कम्पनी लिमिटेडको सीईओको पदावधि नियुक्ति मितिले ४ वर्षको हुन्छ ।