‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम घोषणा, ५ लाखलाई रोजगारी दिइने
काठमाडौं । सरकारले ५ लाखलाई रोजगारी दिने गरी कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम घोषणा गरेका हुन् । यस अभियान अन्तर्गत आगामी २ वर्षभित्र ५ लाखलाई आन्तरिक रोजगार श्रृजना गर्ने गरी निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने उनले बताए । साथै, उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलतासँग सम्बन्धीत संस्थाको कोष तथा कार्यक्रमहरुलाई एकीकृत गरिने उनको भनाइ छ ।
माइखोला हाइड्रोको अध्यक्षमा श्रीजेश गुरागाईं नियुक्त
काठमाडौं । माइ खोला हाइड्रोपावर कम्पनीको अध्यक्षमा श्रीजेश गुरागाईं नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले गुरागाईंलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । श्रीजेश गुरागाईं यसअघि कम्पनीको सञ्चालक थिए । यसअघि कम्पनीको अध्यक्ष रहेका शैलेन्द्र गुरागाईंले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले जानकारी दिए । कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाइ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ३१ असार २०७७ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजना सम्पन्न हुँदाको कूल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । हाल कम्पनीको अधिकृत पूँजी ४० करोड रुपैयाँ, जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।
उदयपुरबाट ९ हजार युवा रोजगारीका लागि विदेसिए
उदयपुर । उदयपुरबाट एक वर्षभित्र ९ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा विदेसिएका छन् । सामी उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतका अनुसार जिल्लाबाट मलेसिया जाने युवाको सङ्ख्या सबैधन्दा धेरै छ । मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने गरेका उनले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९ सालमा मात्रै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या आठ हजार आठ सय ६८ छन् । ‘विगतका वर्षमा सीप तथा तालिम नलिई युवाहरु वैदेशिक रोजगारीमा जाने गरेकाले उनीहरुले विदेशमा धेरै समस्या झेल्नु परेको थियो’, सामीका संयोजक बस्नेतले भने । अहिले स्थानीय पालिकाको समन्वयमा वैदेशिक रोजगारीमा जान चाहनेलाई कामसम्बन्धी विभिन्न सीप र तालिम दिनुका साथै काम सिकेर जान प्रेरणा, सल्लाह, सुझाव दिन थालेपछि वैदेशिक रोजगारीमा जाँदा समस्या कम आउन थालेको उनले बताए । यसअघि रोजगारीका लागि जाने युवाले सीपको अभावका कारण कम तलब पाउने, अपहेलित हुनुपर्ने र कम्पनी छाडेर भाग्नुपर्ने जस्ता समस्या झोल्ने गरेका बस्नेतको भनाइ थियो । रासस